निर्मला पन्तबारे रामप्रसाद खनालले आफ्ना सुझाव सहितका पिडालाई गल्ती तिम्रै थियो भन्दै यसो भने

शरीरभरि काँडे तार बेरेर
पटुकीमा खुर्सानीको धुलो बोकेर
लामा लामा नंगहरु पालेर
आफ्नो सुरक्षा आफै गरेर मात्र

तिमी घरबाहिर निस्किनुपर्थ्यो
स्कुल जानुपर्थ्यो
हिँडडुल गर्नुपर्थ्यो
राक्षसहरुको बस्तीमा
ठ्याक्कै मान्छेजस्तै देखिने

मान्छेजस्तै बोल्ने
हातखुट्टादेखि हर अङ्ग
मान्छेकै जस्तो भएका
एक्काइसौ शताब्दीका
कलियुगका राक्षसहरुसंग
बच्नुपर्थ्यो निर्मला तिमी ।

तिमीले सोच्यौ होलि
देशमा प्रहरी प्रशासन छ
सरकार छ
के नै होला भनेर,

यहीं नेर चुक्यौ तिमी
दोष तिम्रा आमाबाबाको पनि हो
तिमीलाई थाहा नभए पनि
तिम्रा आमाबालाई थाहा हुनुपर्थ्यो

राक्षसी राज र बलात्कारका समाचारहरु
तिमीलाई जसरी मारे
तिमीभन्दा अगाडी धेरै निर्मलाहरु
यसै गरि मारिएका छन्
रद्दीको टोकरीमा फालिएका छन्

आजकल पागलहरुलाई समाईन्छ
मैले गरेको हुँ बलात्कार भनेर
कागजमा हस्ताक्षर गराइन्छ
तिम्रो बस्तीवरपर
केही जिउँदा मान्छे रहेछन् र बल्ल

तिम्रो घटना बाहिर आयो
तर जिउँदै मरेकाहरुको बस्तीमा
धेरै निर्मला बलात्कारकाण्डहरुमा
पागलहरू बलात्कारी बनेका छन्

सोझासाझाहरु परेका छन्
यहाँ यस्तै छ निर्मला ।
यहाँको चलन यस्तै छ निर्मला ।
तिम्रो स्वर्गमा बास होस्
तिम्रो चिरहरण गर्नेहरुको सत्यानाश होस्
पशुपतिनाथले चलाएको देश
दुईतिहाइ पलाएको देश

अब कुन पागल वा निर्दोषलाई
ल्याइन्छ बनाएर बलात्कारीको भेषमा
फुट्न नसकेका यी आखाँहरुले
टुलुटुलु हेर्न विवशहरुको देश ।