बेलायत र ईयूबीच ब्रेक्जिट सम्झौताको मस्यौदामा सहमति

काठमाडौं, कात्तिक २८ । बेलायत र युरोपेली संघ ईयु का अधिकारीहरु ब्रेक्जिट सम्झौताको मस्यौदामा सहमत भएका छन् । महिनौं लामो वार्तापछि ईयुबाट बेलायतको बहिर्गमनसम्बन्धी ब्रेक्जिट सम्झौताको मस्यौदामा सहमति जुटेको हो ।

 

दुवै पक्षका अधिकारीहरुबीचको गम्भीर छलफलपछि सम्झौताको मस्यौदामा सहमति जुटेको हो । मस्यौदामाथि बेलायती प्रधानमन्त्री टेरिजा मेले मन्त्रिहरुको समर्थन जुटाउनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक बोलाएकी छिन् ।

 

मस्यौदामाथि प्रधानमन्त्रीले सबै मन्त्रीहरूसँग एक्लाएक्लै छलफल गर्ने बताइएको छ । ईयूबाट बेलायत अलग्गिनुपर्ने पक्षमा सशक्त धारणा राख्दै आएका केही नेताहरुले सम्झौताको मस्यौदामा समेटिएका विषयलाई लिएर सरकारको आलोचना गरेका छन् ।

 

सहमतिले बेलायतलाई युरोपेली संघको नियन्त्रणमा राखिरहने उनीहरूको तर्क छ । नर्दन आयरल्यान्डको डेमोक्र्याटिक युनियनिस्ट पार्टीले सम्झौतालाई लिएर निकै गाह्रो हुने प्रतिक्रिया दिएको छ ।

 

महत्वपूर्ण मतदानहरुमा यो पार्टीले प्रधानमन्त्री मे लाई समर्थन गर्दै आएको थियो । तर कन्जरभेटिभ पार्टीले भने मतदान प्रक्रियामा गए सम्झौताको मस्यौदा अनुमोदित हुनेमा आफूहरु विश्वस्त रहेको बताएको छ ।

 

युरोपेली संघ र बेलायत दुवैले यसै महिनाको अन्तिमसम्म युरोपेली नेताहरूको शिखर बैठकबाट सहमति सार्वजनिक गरिने अपेक्षा गरेका छन् । सम्झौताको मस्यौदामा बेलायत र युरोपेली संघबीच भविष्यमा कस्तो सम्बन्ध हुने भन्नेबारे पनि उल्लेख गरिएको बताइएको छ ।एजेन्सी