भारतीय कटुवा पेस्तोलसहित तीन पक्राउ


इनरुवा मंसिर १। सशस्त्र प्रहरीले सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा नं ४ बस्ने रञ्जीतकुमार मुखिया, जिल्ला सुपौल भवानीपुर–७ का १८ वर्षीय विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षीय सुमितकुमार गोइत रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

 

सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुर र ८ हरिपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल हरिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा खटिएको टोलीले कोशी गाउँपालिका–८ भण्टाबारीबाट रञ्जीतकुमार मुखियालाई पक्राउ गरेको छ भने सशस्त्र प्रहरी बल श्रीपुरबाट सशस्त्र प्रहरी निरीक्षक नीरन थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–६ श्रीपुरजब्दी धताटोलबाट विवेक यादव र मोटरसाइकल चालक सुमितकुमार गोइतलाई पक्राउ गरेको छ ।

 

जाँचका क्रममा उनीहरुलार्ई पेस्तोलसहित पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । बिआर ५० एफ ३२०६ नम्बरको अपाची मोटरसाइकलको सिटमुनि लुकाएको अवस्थामा मुखियालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका मुखियाको साथबाट एक थान कटुवा पेस्तोल, दुई थान मोबाइल, चाँदीको ब्रस्लेट, चाँदीको सिक्री र केही नगद बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए।