मन्त्रीसमेत माफिया र पार्टीको गुटको स्वार्थका लागि काममा संलग्नमा आरोप सहित डाक्टर केसीले फेरी अनसन बस्ने घोषणा

काठमाडौं,  मंसिर १० । चिकित्सा शिक्षाको सुधारको माग गर्दै आएका सत्याग्रही डाक्टर गोविन्द केसीले फेरी अनसन बस्ने घोषणा गरेका छन् । आफ्नो तीन बुँदे माग अघि सार्दै ती माग आगामी पुस २ गतेभित्र पूरा नभए अनसनमा बस्ने घोषणा गरेका हुन् ।

 

शिक्षण अस्पतालमा सोमबार पत्रकार सम्मेलन गर्दै केसीले गत साउनमा सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरिनुपर्ने, कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्न तत्काल पक्राउ गरि मुद्दा चलाइनुपर्ने र सरकारको निर्णय उलंघन गरी काठमाडौं विश्व विद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी तथा कर्मचारी माथि कारबाही गरिनुपर्ने माग गरेका छन् ।

 

डा केसीले जनता र विद्यार्थीमुखी शिक्षा ऐन ल्याउनका लागि तथा शिक्षा विधेयकमा संशोधनका लागि बारम्बर आन्दोलन हुँदै आएको भएपनि ऐन जारी गर्ने बेला र संशोधनमा भ्रष्ट र माफियाको प्रभावमा परेर सरकारले ढिलासुस्ती गरिरहेको उनले आरोप लगाएका छन् ।

 

केसीले शिक्षामन्त्री गिरीराज मन्त्रीसमेत माफियाको प्रभावमा परेर चिकित्सा शिक्षा आयोगको मातहतबाट मेडिकल शिक्षाको स्नातक तह मुनीको महत्वपूर्ण हिस्साका लागि लबिङमा लागिरहेको आरोप समेत लगाए ।

 

पत्रकार सम्मेलनमा केसीले ‘मन्त्रीसमेत माफिया र पार्टीको गुटको स्वार्थका लागि काममा संलग्न हुने हो भने पदमा रहिरहन उनी नैतिक रुपले अयोग्य छन्’, भनी बताउनुभयो ।