निर्मला पन्तको न्यायका लागि विप्लवले महेन्द्रनगरमा प्रदर्शन

कञ्चनपुर, मंसिर १६ । बलात्कार पश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालीका २ खोल्टीकी १३ बर्षिय निर्मला पन्तको न्यायका लागि आइतवार नेपाल कम्युनिष्ट पार्टी विप्लवले महेन्द्रनगर बजारमा प्रदर्शन गरेको छ ।

 

पुरानो जिल्ला प्रशासन कार्यालय बाट शुरु भएको विरोध प्रदर्शन महेन्द्रनगर बजारको परिक्रमा गर्दै स्मारकमा पुगेर सभामा परिणत भएको छ । प्रर्दशनमा शिक्षकदेखि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केही कार्यकर्ता सहभागि थिए ।

 

प्रर्दशनमा महेन्द्रनगरका विभिन्न सरकारी तथा निजी विद्यालयका शिक्षक पनि सहभागि रहेका थिए । निजी विद्यालयका शिक्षक र विद्यार्थी विद्यालय पोशाकमै प्रर्दशनमा सहभागि भएका थिए । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटले विभिन्न सामुदायिक तथा निजी विद्यालयबाट विद्यार्थी सहभागिता गराएको बताए ।

सरकारले निर्मलाका दोषिलाई संरक्षण गरेको छ  पोलिटव्यूरो  सदस्य पुन

सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी विप्लवका पोलिट व्यूरो सदस्य ओमप्रकास पुनले निर्मलाका हत्याका दोषिलाई सरकारले शुरक्षा दिएर संरक्षण गरेर राखेको बताए । सरकार लाचार भएको छ उनले भने, ‘निर्मलाको हत्या भएको चार महिना बढी वितिसक्दा समेत सरकाले हत्यारा पत्ता लगाउन सकेन । यसको नेतृत्व अब जनसरकारले गर्छ ।’

 

उनले निर्मला हत्या काण्ड बारेको निवेदन जनअदालतमा परेकाले चाँडै जनताका माझ अपराधीलाई सार्वजनिक गर्ने बताए । ‘सरकाले नक्कली अपराधीलाई अझै सार्वजनिक गरे त्यसको चौविस घण्टा भित्र हामी सक्कली अपराधी ल्याएर सार्वजनिक गर्छौ’ उनले भने ।

 

‘डिएनएबाट हत्यारा प्रमाणित हुँदैन्, ‘उनले भने, ‘हत्यारा को हो भन्ने बारे प्रहरीलाई थाहा छ ।’ सामाजिक विकास कार्यक्रमका लागि पोष्टर लगाउनमै अनावश्यक रुपमा आठ करोड सक्ने सरकारले निर्मलाको न्यायका लागि लगाईएका पोष्टर च्यात्नु न्याय संगत नभएको उनले बताए ।

 

सोही पार्टीका केन्द्रिय सदस्य देवीदत्त पाण्डेयले सरकारले निर्मलाका दोषिलाई संरक्षण नगरी कार्वाहीको दायरामा ल्याउन माग गरे । अधिकारकर्मी शारदा चन्दले नेकपा विप्लवको खुलेरै मञ्चबाट प्रशंसा गर्दै भनिन, ‘नेपालमा सच्चा कम्युनिष्ट पार्टी र न्यायका लागि पनि एकमात्र पार्टी विप्लव रहेछ । न्यायका लागि अहिलेसम्म कुनै पनि राजनीतिक दल सडकमा आएनन् ।’

न्याय माग्दा गोली खानुपर्ने र बाबु पागलहुनुपर्ने अवस्था सिर्जना भएको उनले बताए । अर्की अधिकारकर्मी एव नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले न्यायका लागि लड्दालड्दै नपाईएको सन्र्दभमा विप्लव नेतृत्वको पार्टीले अघि सारेको न्यायिक आन्दोनलमा सहभागि भएको तर्क गरिन् ।

 

राष्ट्रिय जनमोर्चा कञ्चनपुरका प्रवक्ता महेश राज जोशीले सरकारले निर्मला हत्याका आरोपी सार्वजनिक गर्न नसक्नु विडम्बना भएको बताए । उनले न्यायका नाममा केही एनजिओ, आईएनजिको कमाई भाँडो बनेको टिप्पणी गरे । नेकपा बैद्य क्रान्तिकारीका कञ्चनपुरका सचिव हरि सुवेदीले गैर कम्युनिष्टले सरकार चलाएको हुँदा हत्यारा पत्ता नलागेको तर्क गरे ।