भारतको आश्रमबाटै हराए आठ नेपाली महिला


काठमाडौं मंसिर २०। नयाँ दिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम सेल्टर होमबाट शनिबार मध्यरातिदेखि हराईरहेका ८ नेपाली महिलाको अवस्था अज्ञात छ। उनीहरु गत वैशाखदेखि त्यहाँ बस्दै आएका थिए।

स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक वर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरुलाई त्यसअघि द्वारकास्थित अर्को आश्रमस्थलमा राखिएको थियो। नेपाली महिलासँगै बेपत्ता भएकी बिहारकी एक बालिकाको अवस्था पनि अज्ञात छ।

 

आश्रममा बालिका तथा महिला गरी ८० जना बस्दै आएका थिए। चौबीसै घण्टा सीसीटीभी क्यामेराको निगरानी र तारबारसहित अग्लो पर्खाल लगाइएको ठाउँबाट महिला बेपत्ता हुनुलाई रहस्यमय ठनिएको छ। प्रहरीले घटना सार्वजनिक भएलगत्तै आश्रम सञ्चालकविरुद्ध उजुरी दर्ता गरेको छ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त आश्रमबाट दुई वर्षअघि पनि पाँच महिला बेपत्ता भएका थिए। घटना सार्वजनिक भएपछि दिल्ली महिला आयोग अध्यक्ष स्वाती मलिवाल नेतृत्वको टोली आश्रम पुगेको थियो।यो खबर आजको कान्तिपुर दैनिकमा छ ।