निशानले डेढ लाख कार किन फिर्ता गर्दैछ त ?

टोकियो, जापान, मङ्सिर २१ । जापानी कार कम्पनी निशानले आफ्ना नयाँ उत्पादनमा हुनुपर्ने सबै परीक्षण नभएको भन्दै बजारमा पठाएका करिब डेढ लाख कारलाई फिर्ता लिने तयारी भएको शुक्रबार बताएको छ ।

 

जापानी विशाल कार कम्पनीका अध्यक्ष रहेकै बेला पक्राउ परेका कार्लोस गोसनको अभावबाट अघि बढिरहेको कम्पनीलाई आर्थिक हिसाबले झड्का दिने यो अर्को घटना बनेको छ ।

 

“निशानले पछिल्लो समय कैयौँ कारहरूमा प्रक्रियागत परीक्षण नभएको भनाइ बजारमा आएपछि कम्पनीले कारहरू फिर्ता गरेर अनुसन्धान अघि बढाउन लागेको छ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । “निशानले मुलुकभरबाट ‘तुरून्तै’ झण्डै एक लाख पचास हजार कारहरूलाई फिर्ता माग्नेछ ।”

 

निशान कार कम्पनीले घरेलु ‘एसेम्वली प्लान्ट’ मा निर्मित आफ्ना कतिपय सवारी साधनका ब्रेक, गति नाप्ने मिटर र अन्य केही प्रणालीको परीक्षण नभई बजारमा पठाएको पाइएको पुष्टि गरेको छ ।

 

यसरी फिर्ता ल्याइने कारहरूमा सन् २०१७ को नोभेम्बरदेखि सन् २०१८ को अक्टोबरसम्म बनेका नोट, लिफ, मार्च र क्युवजस्ता सुगठित कारहरूमा त्रुटी भएको प्रतिक्रियापछि यि सहित विभिन्न १० प्रकारका कारका डेढ लाख पिसलाई फिर्ता गर्न लागेको हो ।कम्पनीले कार फिर्ता ल्याउने कुरा आफ्ना अधिकारीहरूमाझ बिहीबार जानकारी गराएको विज्ञप्तिमा जनाइएको छ ।

 

निशानका उपाध्यक्ष सेइजी होन्डाले भन्नुभयो, “कम्पनीले समस्या देखिएका भनिएका गाडीहरूको आन्तरिक प्रणाली यसको नियमनकारी निकायमार्फत पुनः परीक्षण गर्ने र सही परीक्षणपछि मात्र पुनः बजारमा पठाइनेछ ।” हामीले सबै सम्बद्ध पक्षको विश्वास पुनः प्राप्त गर्न कडा मेहनत गर्नेछौँ ।

 

अख्तियारी नपाएका कर्मचारीद्वारा केही सवारी साधनको आन्तरिक यान्त्रिक प्रणालीको परीक्षण गरी बजारमा पठाएको आरोपपछि उक्त कम्पनीले गत बर्ष पनि १० लाखभन्दा बढी गाडीहरूलाई फिर्ता गरी आवश्यक परीक्षण गरेको थियो ।

 

जुलाईमा आएको अर्को फरक मुद्दामा निशानले ‘एक्जस्ट इमिसन’ र ‘इकोनोमी मोड’ बारे प्रचार गरिएका डाटा नै झुटा भएको आरोपपछि यस बिषयमा ग्राहकको विश्वास जित्न कठीन भएको थियो ।

 

“के गोसन, जसलाई फ्रान्समा ‘ले कोस्ट किलर’ का नामबाट चिनिन्छ, ले आफ्नो कार्यकालमा व्यापक मूल्य कटौति गरी पठाउने शिलशिलामा सम्भवतः परीक्षणमा त्रुटी भएको हो,” होन्डाले बताउनुभयो ।उहाँले थप्नुभयो, “हामीले गत बर्षको र पछिल्लो परीक्षण समस्या एउटै हो वा होइन यसबारे अध्ययन भइरहेको छ ।”

 

निशानका अध्यक्ष रहेकै समय आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका गोसन र एक अर्का अधिकारीलाई कम्पनीले जिम्मेवारीबाट मुक्त गरेको छ । यद्यपि गोसनले आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै यसको खण्डन गर्दै आउनुभएको छ ।रासस/एएफपी