नेपाल आइडलको टप चारमा पुगेका रवि भन्छन्–‘आइडलको मञ्च संगीतको विश्वविद्यालय’

काठमाडौँ, मंसिर २३ । नेपाल आइडलमा अब चार प्रतिस्पर्धी बाँकी छन्– अस्मिता अधिकारी, सुमित पाठक, विक्रम बराल र रवि ओड। प्रतिस्पर्धी घट्दै जाँदा उनीहरूबीचको प्रतिस्पर्धा चाहिँ बढ्दै गएको छ।

 

करिब चार महिनादेखि सँगै रहेका उनीहरू एकअर्काका सहयोगी बनेका छन्। एउटा बाहिरिँदा अर्को रुन्छन्, एउटा सेभ हुँदा अर्को खुशी हुन्छन्। टप फाइभमा पुग्नु विजेता बराबरै हो। उनीहरू प्रतियोगिता जिते पनि वा नजिते पनि भविष्य चाहिँ संगीतमै बनाउन चाहन्छन्। टप फोरमा पुगेकाको अहिलेसम्मको अनुभव, साथीहरू बिदा हुँदाको क्षण र आइडलपछिको योजना के–के छन् त रु

अस्मिताः नर्सिङ र गायन सँगसँगै

टप फाइभसम्म आइपुग्दा धेरै च्यालेञ्ज पार गरेको अनुभव छ, अस्मिता अधिकारीलाई। ‘म त यस्तो कार्यक्रममा पहिलो पटक आएकी हुँ,’ उनी भन्छिन्, ‘सबै एकसे एक गायक थिए, उनीहरूबाट मैले धेरै कुरा सिक्न पाएँ। पहिलाभन्दा आत्मविश्वास बढेको छ।’

 

करिअरका रूपमा नर्सिङ पढेकी थिइन्, अस्मिताले। संगीत उनको रुचिको विषय थियो। नेपाल आइडलमा आएपछि उनको सपनाले कोल्टे फेर्‍यो। उनले गाएका हरेक गीत निर्णायकले मन पराए अनि देशविदेशका दर्शकले पनि। भन्छिन्, ‘यहाँ आएपछि आफूमा भएका कमी–कमजोरी पनि थाहा पाएर सुधार गरिरहेकी छु।’

 

अस्मिताले लोकगीत र राष्ट्रिय गीतका एपिसोडमा राम्रो प्रस्तुति दिएर सबैको मन जितिन्। पुरानो लोकगीत ‘हरियो डाँडा माथि’लाई फिमेल भर्सनमा दमदार गाएर चौतर्फी प्रशंसा बटुलेकी थिइन्। राष्ट्रिय गीतको एपिसोडमा उनले ‘सयथरी बाजा’ गाइन्। त्यसमा पनि त्यत्तिकै तारिफ पाइन्। ‘आइडलमा आएपछि सबै फम्र्याटका गीत गाउन सक्छु भन्ने आँट पलाएको छ,’ उनी भन्छिन्।

 

करिब चार महिनादेखिसँगै बसेका साथीहरू बाहिरिँदा नरमाइलो लाग्ने उनी बताउँछिन्। अस्मितालाई सबैभन्दा नरमाइलो चाहिँ रुम मेटसमेत रहेकी नीलिमा थापामगर आउट हुँदा लागेको थियो। त्यसपछि पवन गिरी आउट हुँदा पनि खल्लो भयो। भन्छिन्, ‘एउटै परिवार भएर बसेका छौँ। कोही आउट हुनेबित्तिकै नराम्रो लाग्छ तर बाहिरिएका साथीहरूसँग पनि हामी सम्पर्कमै छौँ।’

 

प्रतियोगिता जिते पनि र नजिते पनि उनी नर्सिङ र संगीत यात्रालाई सँगै अघि बढाउन चाहन्छिन्। भन्छिन्, ‘म म्युजिकमै व्यस्त भए पनि मेडिकल नलेजमा अपडेट भइरहनेछु।’

सुमितः शुक्रबार नआओस्

गोल्डन माइक पाएकाले सुमित पाठकलाई सुरु–सुरुमा त धेरै दबाब थिएन। तर, जब गाला राउन्ड सुरु भयो दर्शकस्रोताको अपेक्षा पूरा गर्न धेरै मेहनत गर्नुपर्यो‍ उनले। ‘राम्रै हुनुपर्छ भन्ने आशा थियो सबैको त्यसैले राम्रो गर्ने कोसिस गरेँ,’ उनी भन्छन्।

 

सुमितले एउटाबाहेक सबै प्रस्तुतिमा निर्णायकको रेस्पेक्ट पाए। पहिला पनि ब्यान्डमा गाउने सुमितले रक त धेरै गाएका थिए तर लोक गाएका थिएनन्। आइडलमा उनले लोक गाउँदा खूब प्रशंसा बटुले। तर, राष्ट्रिय गीत चाहिँ आफूले सोचेजस्तो गाउन नसकेको उनी बताउँछन्।

 

सुमितलाई शुक्रबारको दिन नआओस् जस्तो लाग्छ। ‘शुक्रबार बिर्सिने औषधि पाए खाएर बिर्सिन्थेँ जस्तो लाग्छ,’ उनी भन्छन्, ‘किनकि हरेक शुक्रबार एउटा साथीको बिदाइ गर्नुपर्छ।’

 

सुविन सिंह, नीलिमा थापामगर, पवन गिरी बिदा हुँदा आफूलाई नरमाइलो लागेको उनी बताउँछन्। आइडलपछिका दिनमा उनी संगीतमै लाग्न चाहन्छन्।

विक्रमः पवन नहुँदा दुःखी

नेपाल आइडलमा आएपछि विक्रम बरालले फरक–फरक अनुभव गर्न पाए। उनले पहिला लोक र राष्ट्रियगीत त्यति सारो गाएका थिएनन्। तर, अलि मेहनत गरेर गाउँदा धेरै राम्रो गाउन सक्ने उनी बताउँछन्। ‘पोखरेली भएकाले सालैज्यो सुनेको थिएँ, बुझेको थिएँ तर गाएको थिइनँ,’ उनी भन्छन्, ‘यो मञ्चमा पोखरेली भएको परिचय यही गीतबाट दिन सकेँ।’

 

पवन गिरी आउट हुँदा विक्रमलाई दुःख लाग्यो। ‘उसको क्षमता देख्दा अझै दुई तीन जनालाई पछार्थ्यो जस्तो लागेको थियो,’ उनी सुनाउँछन्, ‘तर, पवन बीचैमा आउट भयो। मलाई नराम्रो लागेको छ।’

 

उनले नेपाल आइडलमा हुँदाहुँदै फिल्ममा गाउने अवसर पाए। उनी अत्यन्तै खुशी पनि छन्। नेपाल आइडलपछि यही क्षेत्रमा केही गर्न सक्छु भन्ने उनलाई लागेको छ। ‘आइडलपछि काठमाडौँमा बसेर संगीत क्षेत्रमै फुलटाइम लाग्न चाहन्छु,’ उनी भन्छन्, ‘टप चार हुनु नै ठूलो कुरा हो। हामी सबै विजेता हौँ।’

रविः आइडल नै विश्वविद्यालय

नेपाल आइडलको विभिन्न कठिन खुट्किला चढ्दै टप चारसम्म आइपुगेका छन्, रवि ओड। आइडलमा आएर आफूले धेरै कुरा सिकेको उनी बताउँछन्। ‘एक हिसाबले भन्दा संगीत पढिरहेको जस्तो लाग्छ,’ उनी भन्छन्, ‘आइडलको मञ्च संगीतको विश्वविद्यालय बन्यो मेरा लागि।’

 

पहिला त दोहोरीमा धेरै किसिमका गीत गाए तर आइडलमा आएपछि आफू प्ले ब्याक र लोकपपमा राम्रो गाउन सक्ने रहेछु भन्ने बुझे रविले। आइडलको टप फाइभसम्म आइपुग्दा उनलाई धेरैले चिने, उनको कला देखे, बुझे। त्यसैले उनलाई संगीतमै केही गरेर देखाउनुपर्छ भन्ने लागेको छ। ‘मेहनत नगरे म हराउन सक्छु,’ उनी भन्छन्, ‘उनले यसलाई चुनौतीका रूपमा पनि लिएकी छन्।’

विशेष गरी टप टेनपछि आउट हुने सबै साथीलाई उनी सम्झिन्छन्। ‘जति थोरै भयो त्यति नजिक भइने रहेछ,’ उनी भन्छिन्।

झन्–झन् लोकप्रिय आइडल

अहिले युट्युबमा नेपाल आइडलको चर्चा चुलेको छ। यसको चर्चा संसारभर फैलिएको छ। अहिले संसारभरका आइडलमध्ये युट्युबमा सर्वाधिक खोजी गरिने दोस्रो सोको रूपमा नेपाल आइडल बन्न सफल भएको छ। युट्युब प्रयोगकर्तामध्ये नेपालमा ५९ प्रतिशतले यो सो हेर्ने गर्छन्। युट्युब भ्युजका आधारमा नेपाल आइडल सबैभन्दा धेरैले हेर्ने रियालिटी सो बनिरहेको छ।

 

अन्नपूर्ण मिडियाअन्तर्गतको एपीवान एचडी टेलिभिजनबाट नेपाल आइडल प्रसारण हुन्छ। यसमा अहिले चार जना उत्कृष्ट प्रतियोगीले प्रतिस्पर्धा गर्दै छन्। नेपाल आइडल सिजन–२ को टाइटलका लागि सबै प्रतिस्पर्धीले उत्कृष्ट प्रस्तुति दिइरहेका छन्।

 

कार्यक्रम निर्देशक सुरेश पौडेल कार्यक्रमको उत्पादन, व्यवस्थापन, प्रतियोगीको प्रस्तुति तथा दर्शकको भावना अनुसारका गीत छनोटले नेपाल आइडलको लोकप्रियता बढेको बताउँछन्। उनी भन्छन्, ‘विश्वभरका देशले प्रसारण गर्ने आइडलमध्ये नेपाल दोस्रो स्थानमा परेको छ।’ गत वर्षको सिजनभन्दा यो वर्ष नयाँपनको आभास भएको उनको भनाइ छ। ‘यसले पनि दर्शकमाझ लोकप्रियता बढाएको हो,’ उनी भन्छन्।

अन्नपूर्ण पोस्टबाट