गाँजा र बन्दुकसहित तीन पक्राउ

हेटौंडा, २८ मंसिर । धादिङको बेनीघाट रोराङ गाउँपालिकाबाट पाँच नाल बन्दुक र ५ सय केजी गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बेनीघाट रोराङ गाउँपालिका– २ का ३० वर्षीय सानो कान्छा लामा, ठुलो कान्छा तामाङ र सोही ठाउँकै वीरबहादुर तामाङ रहेको छ ।

 

प्रहरीले सानो कान्छा लामाको घरबाट ३ वटा भरुवा बन्दुक र १० बोरा गाँजा, त्यस्तैगरी वीरबहादुरको घरबाट १ थान भरुवा बन्दुकसहित १२ बोरा गाँजा बरामद गरिएको छ । र ठुलो कान्छा तामाङको घरबाट २ थान बन्दुक बरामद गरिएको धादिङका प्रहरी उपरीक्षक डम्बर विश्वकर्माले बताए ।

 

जिल्लाको दुर्गम क्षेत्रमा गाँजा व्यापारीहरुले मकवानपुर भएर गाँजा लैजाने तयारी गरेको प्रहरीले जानकारी पाएपछि प्रदेश ३ हेटौडाको प्रहरी कार्यालय, मकवानपुरका डाँडाखर्कका प्रहरी र धादिङको प्रहरी गरी १६ जनाको टोलीले तामाङत्रयको घरमा छापा मारेर २२ बोरा गाँजा र ५ नाल बन्दुकसहित ३ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक विश्वकर्माले बताए । गाँजा भरियाहरु फेला नपारेका कारणले शुक्रबार अपरान्हसम्म जिल्ला प्रहरी कार्यालय धादिङ गाँजा, बन्दुक र पक्राउ परेकाहरु ल्याइसकेको छैन ।