देशमा समृद्धि ल्याउन नेपाली कांग्रेसलाई लगातार ३ वटा चुनाव जिताउन आग्रह : प्रवक्ता शर्मा


काठमाडौं मंसिर २९। काठमाडौंमा शुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले देशमा समृद्धि ल्याउन नेपाली कांग्रेसलाई लगातार ३ वटा चुनाव जिताउन आग्रह गरेका छन् ।

प्रवक्ता शर्माले महासमिति सदस्यहरुलाई कांग्रेसले १५ वर्ष शासन गर्ने गरी लगातार चुनाव जिताउने संकल्प गर्न आग्रह गरेका हुन् । उनले भने, ‘नेपाली कांग्रेसले संसदीय अभ्यासको वितेको २५ बर्षमा ६ पटक चुनाव हुँदा एकपटक चुनाव जित्ने, अर्कोपटक हार्ने, फेरि जित्ने फेरि हार्ने भयो ।

वीपीले १५ बर्ष कांग्रेसले जित्यो भने मुलुक समृद्ध बनाउन सकिन्छ भन्नुभएको थियो । सबैले महासमितिको बैठकमा लगातार १५ वर्ष चुनाव जितेर मुलुकलाई समृद्धीको दिशामा लाने संकल्प गर्नुपर्दछ ।’ उनले वीपी कोइरालाले हरेक नागरिकलाई आफूजस्तै बनाउन चाहन्छु भनेको उल्लेख गर्दै वीपीले हाफ्नो मन्त्रीपरिषदमा समावेशीता राखेर, महामन्त्रीमा समावेशीता राखेर देशलाई एउटा दुरदृष्टिकोण दिएको उल्लेख गरे ।

 

उनले जारी महासमितिको बैठकपछि पार्टीलाई एकताबद्ध बनाएर देशलाई बनाउन सक्ने उल्लेख गरे । प्रवक्ता शर्माले पार्टीको महासमितिको बैठक बस्दै गरेका बेला पार्टीका लागि रगत पसिना बगाएका कार्यकर्ता एकताको सन्देश पर्खिरहेको बताए । माओवादी द्धन्द्धमा परेर आफ्ना बाबुआमा गुमाएका, घाइते अपाङ्गले पार्टीलाई पर्खिरहेको बताउदै साउदी कतार दुबईमा ५० डिग्री तातोमा काम गरिहेका कांग्रेसका शुभचिन्तकले पनि पार्टीमा एकता चाहेको उल्लेख गरे ।