पहाड बोकेर एक्लैएक्लै

           खगेन्द्र गिरि काेपिला

 

 

कोही पूर्वबाट फाल हाल्दै आइपुगेका छौं ।
कोही पश्चिमबाट दौडिदै आइपुगेका छौं  ।।

 

२०७२ साल फाल्गुण १५ गतेको उज्यालो बिहान । हामी रिहारमा आइपुग्नेको सङ्ख्या एघार पुग्यो ।
बिहानको खाना त्यहीं खाइयो । चामल, दाल, तेल, मसाला, पानीका बोतल, बिस्कुट र चाउचाउ झोला—झोलामा खाँदेर भिरियो । हातमा लट्ठि समातिए । अनि रिहारखोलाको किनारैकिनार सोझै दक्षिण लागियो । राप्ती नदीको बगरमा एकछिन बालुवा र पानीसित रमाइलो गरे हाम्रो टोलीका युवा सदस्यहरुले । नीमबहादुरदाजुले ‘यतै रमाइलो गरेर समय सक्ने हो भने चुरेको लेकमा पुगेर के गर्ने हौ ठिटा हो? लौ हिडौं छिटो’ भनेर तताउनु भएपछि डुङ्गा चढेर राप्ती तरी पारी गयौं । हरियो गहुँबारीको बीचैबीच फराकिलो बाटो हिड्दै गङ्दी पुग्न आधा घण्टा लाग्यो । त्यहाँ भेटिए घनश्याम चौधरी । नीमबहादुर थापादाजुका परिचित र सहकर्मी रहेछन् । पहिल्यै खबर गरेर यतै खाना खान आउनु पर्ने भनेर निकै दुःखमनाउ गरे उनले । पानी चिया पिलाए । हाम्रा लागि दुईटा ट्रेक्टरको व्यवस्था पनि गरिदिए । उनकी श्रीमति सुत्केरी भएको कारणले घर छोड्न सकेनन् । ‘नत्र म पनि मिसिने थिएँ यही टोलीमा’ भन्दै आत्मियता पोखेर बिदाई गरे हामीलाई ।

 

टे«क्टर चढेर गङ्दीबाट बारह बजेतिर हामी दक्षिणतर्फ लाग्यौं । ‘ब्यानरमा पदयात्रा लेखिएको छ, फेसबुकमा टे«क्टर चढेको फोटो नहाल्नु होला है अंकल ! लाज हुन्छ’ महेन्द्र रोकाले जिस्क्याए नीमबहादुरदाजुलाई । चुरे पहाडबाट आएको गङ्दी खोलोको किनारैकिनारै बाटो गल्ड्याङगुल्डुङ गर्दै दक्षिणतर्फ लाग्यो । नाम खोला भए पनि खोलामा पानी बगेको देखिएन । खोलामा कतैकतै सुक्न लागेको कुलोमा पानी बगेको जस्तो देखिन्छ त कतै पानी जमेको जस्तो देखिन्छ । ‘वर्षातमा ठूलठूला भेल बग्छन् तर्न सकिन्न यो खोला’ ड्राइभरले वर्णन गरे खोलाको तर आफ्नो नामको इज्जत धान्न सकेको भने देखिएन यो खोलाले । चुरेका पाखामा काटिने काठहरु ओसार्नका लागि बनाइएको यो बाटो पनि कहाँ बाटोजस्तो छ र? टे«क्टरका ठूल्ठूला पाङ्ग्रा बाहेक अरु गुड्न सक्ने स्थिति छैन । कतै बालुवा, कतै ढुङ्गा त कतै धुलोले भरिएको छ बाटो । गङ्दी खोलाको बगरलाई कहिले पारि, कहिले वारि गरी पचासौं पटक तरियो होला त्यो दिन ।
बिस्तारै बाटो उकालोउकालो लाग्न थाल्यो । चुरेका पाखामा पातला रुखहरु उभिएका छन् । उमेर बढ्दै गरेको मानिसको तालु खुइलिएझैं पाखाहरु नाङ्गो हुने क्रममा छन् । कतैकतै फाट्टफुट्ट एक्लादुक्ला घर पनि देखिए । धुले बाटोमा कतै टे«क्टरका पुरै पाङ्ग्रा डुब्छन् त कतै ठूलाठूला ढुङ्गा अगाडि तेर्सिन्छन् । कतैकतै ठाडै उकालो बाटोमा टे«क्टर चढ्दै गर्दा डराएर ओर्लियौं पनि हामी । टे«क्टरले उडाएको धुलोले हाम्रो जिउ पुरै सेतै भैसकेको छ । डेड घण्टा जति कुदेपछि एउटा अग्लो पहाडको डिलनिर टे«क्टरले ओराली दियो । अब हामी पश्चिम तन्केको धुले बाटो छोडेर सिधै दक्षिणतर्फको पाखोमा ओर्लियौं । हिड्दै गरेको बाटो कतै ओरालैओरालो खोल्सातिर झर्छ त कतै अनकन्टार झाडीभित्र हराउँछ, कतै फेरि उकालो चढ्दै छ्याङ्ग उज्यालो डाँडामाथि आइपुग्छ । बाटोभरी खसेका पातहरुले बाटो पहिल्याउन पनि गाहारो हुन लाग्यो । मानिस र गाईबस्तु हिडेका डोब पछ्याउँदै हामी जताजता बाटो जान्छ उतैउतै हिडिरह्यौं । धेरै ठाउँमा बाटो हरायौं तर नीमबहादुर थापाका अनुभवी आँखाले जताजता जाउँ भन्छन् उतैउतै बाटो पहिल्याउँदै हिडेका कारण अन्ततः दुईघण्टाको हिंडाईपछि गडुलचुली भन्ने ठाउँमा आइपुग्यो हाम्रो डफ्फा ।

 

गडुलचुलीबाट चारैपट्टि हेर्दा चुरेका थुम्काहरु होचाहोचा देखिदारहेछन् । जति उत्तरतिरका थुम्काहरु काटेर आइयो उति नै दक्षिणतिर पनि देखिए । ‘सायद यो चुरेको अग्लो चुली रहेछ’ धेरै नबोल्ने बीपी अस्तुले अनुमान लगाए । यहाँको अवस्थितिले हामी चुरे श्रृङ्खलाको बीच भागमा आइपुगेको जनाउ दियो । पूर्वपट्टि चट्टानैचट्टानले भरिएको निकै अनकण्टार भीर देख्यौं । त्यसैको माथिमाथि गरुड र चिलका बथान उडिरहेका देखिए । ‘सायद यिनै गरुडकै कारणले यसको नाम गडुलचुली रहेको होला’ श्रीधर भण्डारीले अर्को अनुमान गरे । यहाँ नास्ता खाएर फेरि हामी अघि बढ्यौं । अघि छुट्टिएको धुले सडक घुम्दै फेर्दै फेरि यतै भेटिन आइपुग्यो । मीनबहादुर रानाले गुल्मीको लवजमा लोकगीत गाए — छिनको छिनैमा, भेट भो माया, के भनी बोलाउँ म पहिलो दिनैमा । अघिको भन्दा केही सहज त भयो हिड्न तर घुम्दै फिर्दै त्यो बाटो फेरि पश्चिमतिरै लागेपछि हामी एउटा गोरेटो पहिल्याउँदै दक्षिणतिर लाग्यौं । उकालीओराली गर्दै बल्लबल्ल चुरेको दक्षिणी चुलीमा आइपुग्यौं । तल गहिराईमा साँगुरो फाँट र अलि पर जङ्गल देखियो । अलीअली घर पनि देखिए । नीमबहादुरदाजुले फेरि अनुमान लगाउनु भयो— ‘उ त्यही हो अडबरुआ नाका’ ।

चुरेको पाखो झर्दै अडबरुआ पुग्न हामीलाई एक घण्टाजति लाग्यो । उकालोभन्दा ओरालो झर्न झन् गाहारो हुन्छ भन्ने दृष्टान्तलाई पुष्टी ग¥यो यस ढुङ्गेलो ओरालोले । अडबरुआ खोलाको छेउमा पक्की धारो भेटियो । पानी पियौं मुख धोयौं एकछिन सुस्तायौं । केही महिला र बालबालिकाहरु धारा वरिपरि झुम्मिएका छन् । घाम डुब्ने बेला आफ्नो गाउँमा आइपुगेको हाम्रो डफ्फालाई कुतुहलतापूर्वक हेर्न थाले तिनीहरु । हामीलाई यही गाउँमा बिताउनु छ आजको रात । थाकेर लोथ परेको जिउलाई डो¥याउँदै हामी गाउँभित्र पस्यौं । गाउँको मुखैमा हामीलाई आँखा च्यातेर हेर्दै उभिइरहेका एकजना अधबैंसे भेटिए । सोधपुछ, परिचय गरियो । उनको नाम शंकर गिरि रहेछ । मैले मेरो नाम खगेन्द्र गिरि भनेर परिचय दिए पछि उनी छक्क परे । गिरिको जातीय साइनो जोडेर हाँस्दै उनले मलाई आफ्नै घरमा बस्न अनुरोध गरे । दुई टोली बनाएर अरुलाई गाउँतिर बस्ने व्यवस्था पनि मिलाई दिए उनैले । गिरि भनेपछि उनी मसित निकै झ्याम्मिए । घरमा आफ्नै नातेदार आएजस्तो गरेर निकै मानमनितो पनि गरे । दिन भरी उकालो ओरालो हिंडेकोले मेरो शरिर निकै थाकेको थियो, खुट्टा दुखिरहेका थिए । कुरा गर्ने जाँगर थिएन । पेटमा अलिकति तातो अन्न हालेर सुत्न पाए हुन्थ्यो भन्ने चाहना थियो तर शङ्कर गिरि मसित अनेक कुरा सोद्धै गफिन खोजिरहेका थिए ।

 

‘गिरि भएर पनि तँपाईहरुको घरमा न शिवधुनी देखियो न आँगनमा तुल्सीको मठ देखियो । तपाईहरु संन्यासी गिरि नै हो कि कुनै अर्कै गिरि हो शङ्करजी?’ भनेर सोध्दा घरका मान्छे एकअर्काको मुख हेर्न थाले ।
‘कमसेकम घरको चुल्हो छेऊमा एउटा त्रिशुलसम्म त गाडेर राख्नु पर्ने नि’ मैले फेरि प्रश्न तेस्र्याएँ ।
‘फाली हालेम्’ यसपटक उनकी श्रीमतिले मुख खोलिन् ।
‘अनि पूजाआजा कसरी गर्नु हुन्छ त?’ मैले फेरि जिज्ञासा राखें ।
‘हामी त मण्डली जान्छम्’ उनैले उत्तर दिइन् ।
‘के हो मण्डली भनेको?’ मैले जिज्ञासा पोखें ।
‘उ त्यै चर्चमा जान्छम्’ गाउँको छेउमा एउटा सेतो टिनले छाएको घर देखाए शङ्करले ।
उनीहरु त कृस्चियन भैसकेका गिरिहरु पो रहेछन् । मलाई गिरिहरुको गाउँको बीचैमा मन्दिर नभएर चर्च कसरी ठडिन पुगे छ? त्यसको कथा जान्न मन लाग्यो । दुई दर्जन जति घर भएको अडबरुआमा आठ घर त गिरिकै रहेछन् । रोल्पाबाट आएका गिरि, क्षत्री र मगरहरुले बसोबास गरेको अडबरुआ दाङ्को दक्षिणी सिमान्त बिन्दुमा चुरेको काखमा करिबकरिब अन्जानजस्तै भएर जीवन धानिरहेको गाउँ हो । यहाँ धेरै किसिमका असुविधा छन् तर सबैभन्दा बढी दुक्ख त पानीकै रहेछ । कृश्चियन धर्म प्रचारकहरुले सात किलोमिटर टाढा चुरेको लेकबाट पाइपद्वारा पानी ल्याएर गाउँमा पक्की धारो बनाइदिएपछि गाउँलेहरु उनीहरुप्रति अनुगृहित भएछन् । त्यही अनुग्रहको बोझले थिचिएर उनीहरुले जे भन्यो त्यही मान्न विवश हुँदै गए गाउँलेहरु । गाउँकी एउटी केटीले घोराही गएर बाइबल पढेर आएपछि त्यही चर्चको पाश्चर भएकी रहिछन् । अचेल उनकै खटनपटन चल्दो रहेछ गाउँमा । यो अनकण्टार ठाउँमा मठमन्दिर ब्राह्मण पुजारी केही नभएपछि मानिसलाई आफ्ना धार्मिक अनुष्ठान गर्न असजिलो हुँदै गयो । बिस्तारै मानिसहरु हिन्दु धर्मका कर्मकाण्ड, विधिविधानहरु बिर्सिदै गए । त्यही शूण्यताको स्थितिमा एकदिन आइतबार चर्चमा गएर प्रभुको भजन गाएर पाश्चरको प्रवचन सुने पुग्ने सजिलो कृस्चियन धर्मप्रति गाउँलेहरु आकर्षित हुनु स्वाभाविकै हो । ‘भुखे पेट भजन नाहीं’ (भोको पेटमा भजन हुन्न) भन्ने कबिरदासको दोहाको सम्झना आयो ।

 

शङ्करका बुवाको छ वर्ष अघि स्वर्गे हुँदा संन्यासी संस्कार अनुसार आँगनको छेउमा समाधि बनाएका रहेछन् । पहिलेपहिले हरेक साँझ उनी त्यही समाधिमा दियो जलाएर पूजा पनि गर्दा रहेछन् तर चर्च जान थालेदेखि त्यो पनि छुटे छ । त्यो साँझ हिन्दु धर्म नछोड्नु पर्ने भनेर उनीसित निकै गफ भयो मेरो । धर्म बदल्नु मान्छेको निजी अधिकारको कुरा होला तर यसरी आफ्नो धर्म बदल्दै अरुको धर्म अँगाल्दै गएपछि भावी पुस्ताहरु आफ्नो इतिहास, संस्कृति र परम्पराबाट नफर्किने गरी टाढा पुग्छन् भनेर मैले सम्झाएँ । हामी गिरिहरुका पुर्खा संन्यासी, सन्त, महन्तहरुले मुस्लिम र कृस्चियनहरुको अतिक्रमणबाट आजसम्म हिन्दु धर्मलाई कसरी जोगाएर ल्याए मैले त्यसका उदाहरण दिएँ । हाम्रा आदि जगतगुरु शंकराचार्य र गोर्खाली राजा पृथ्वी नारायण शाह हुन्थेनन् भने नेपाल पनि आज अफ्रिकाजस्तो इसाईमय वा बंगलादेशजस्तो मुस्लीममय भैसक्थ्यो होला भनेर अनेक उदाहरण दिएँ । मैले गिरिहरुको संस्कारको बारेमा जानेको सुनेको बुझेको भनें । उनीहरुले ध्यानपूर्वक सबै कुरा सुने ।

 

‘के गर्ने हजुर ! हामीले हाम्रो संस्कार बिर्सिदै गयौं । यसरी सम्झाउने मान्छे कोही भेटिएनन् । यति जानेको भए किन जाँदा हुम् मण्डली?’ शङ्करले लामो सास तानेर भने ।

 

भोलिपल्ट बिहान छुट्टिने बेलामा निकै भावुक देखिए शङ्कर । ‘आज यतै बसौं भोलि जानु होला’ भन्दै धेरै पटक अनुरोध गरि रहे उनी । हामीलाई चौबिस वटा नाका हिडेर बाँके पुग्नु छ । फिरन्ते—रमन्ते बनेर हिडेकाहरुलाई एउटै नाकामा दुई दिन बस्न संभव नभएको बताएपछि उनले बिदाई दिए ।

 

‘फेरिफेरि आइजानु होला’ उनकी श्रीमतिले पनि आत्मियता पोखिन् । गाउँको पुछारसम्म पु¥याउन आए शङ्कर गिरि । छुट्टिने बेलामा मेरो हात समातेर भने— ‘अब त म जान्न मण्डलीमा’ । मलाई उनको प्रतिबद्धताले खुसी बनायो ।

 

पोहोर हामीले चुरे साहित्यिक पदयात्रालाई मुसी नाकाबाट शुरु गरी कोइलाबासहुँदै खङ्ग्रा नाकामा आएर समापन गरेका थियौं । यो पाली खङ्ग्राबाट पैदल हिंडेर एक घण्टामा पुगिने अडबरुआ नाकाबाट पुनः शुरु गरेर हामी पश्चिम लाग्दै छौं । अघिल्लो वर्ष हाम्रो टोलीमा एघार जना थियौं यो पाली पनि एघारै जना भइयो तर दोहोरिनेमा परियो केवल पाँच जनामात्रै देउखुरीका नीमबहादुर थापा, गढवाका आशिष बुढा ‘कल्पवृक्ष’, लमहीका गुरुप्रसाद कुम्हाल र छविलाल कोपिला अनि नेपालगंजबाट ममात्रै । घोराहीका दीपक शर्मा ‘समीर’, नेपालगंजका श्रीधर भण्डारी, बीपी अस्तु, डम्मर थापा ‘आश्रीत’, महेन्द्र रोका र बुटबलका मीनबहादुर राना थपिएका छन् यो पाली हाम्रो डफ्फामा ।

 

अडबरुआबाट हिडेको तीन घण्टामा हामी बैरवानाका काटेर गौरियानाका आइपुग्यौं । बैरवाबाट हिड्दा हाम्रो पछिपछि दुईजनी महिलाहरु थपिएका थिए । हामीलाई खानाको मेसो मिलाउनु थियो । उनीहरुसित कुराकानीको शुरुआत गरे छविलाल कोपिलाले । गौरियाको प्राथमिक विद्यालयमा पढाउने शिक्षिका रहेछन् । शङ्कर गिरिले गौरीयामा मेरा नातेदार पुरीहरुका घर छन् त्यहाँ गएर मेरो नाम लिनु भयो भने खानाको दुःख हुन्न भनेका थिए । त्यही कुरा सम्झाए पछि हामीहरुलाई चुर्णबहादुर पुरीको आँगनमा पु¥याइदिए उनीहरुले । बीस—बाइस ओटा घर भएको गौरियामा त्यै घर रहेछ अरुको भन्दा ठूलो । त्यो दिन उनको छिमेकीको घर छाउने कार्यक्रम रहेकोले सबै उतै व्यस्त थिए । कामको चटारो परेको बेला हाम्रो डफ्फालाई खाना पकाएर खुवाउने जाँगर उनीहरुले देखाएनन् ।

 

नीमबहादुर दाजुले —‘हामी अडबरुआबाट शङ्कर गिरिले पठाएर यहाँ आएका हौं, आउनु होस् न चिनापर्ची गरांै, कतै नातापाताको डोरी बाँधिएको पो छ कि?’ भन्नु भएपछि चुर्णबहादुर काम छोडेर हामीसित कुरा गर्न आए । नीमबहादुर दाजुले चुर्णबहादुर र मेरो बीचमा गिरि—पुरीको जातीय नाता जोडेर कुराको शुरुआत गर्नु भो । उनी सल्यानबाट त्यहाँ बसाई सरेर आएका रहेछन् । म बाजुराको गिरि हुँ । तैपनि दाङको त्यो अनकन्टार सीमान्त कुनामा ‘गिरि—पुरी’ को संन्यास परम्पराको साइनो लगाउँदा चुर्णबहादुर पुरी मसंगको परिचयले निकै खुसी देखिए ।

 

‘आउनु होस् न आफ्नै इस्टमित्र हुनुहँुदो रहेछ, एकछाक भात ख्वाउन पनि नसकौंला र’ भन्दै आफ्नो घरको पिंढीमा चारपाई ओछ्याए, हामीलाई बसाए । पानी पिलाए । उनकी श्रीमति हाँस्दै भान्सामा फ¥याकफुरुक गर्न लागिन् । चामल हामीले बोकेकै थियौं । साथिहरु पनि खाना पकाउने काममा सघाउन लागे ।

 

चुर्णबहादुर पुरीका छोरा, उनकी पत्नि जयपुरी गिरिकी छोरी । चुर्णबहादुरसित बिहे गरेपछि जयपुरी डबल पुरी भएकी रहिछन् । नाम जयपुरी थर पुरी । ‘बहिनीको नाम त संयुक्त राष्ट्र संघका महासचिब बुत्रोस बुत्रोस घालीकै जस्तो मिलेको रहेछ जयपुरी पुरी’ मैले ठट्टा गर्न खोजें उनी मज्जाले हाँसिन् । ‘लौ दिदी छिटो पकाउनु प¥यो, यहाँ पेटमा मुसा दौडिन थालिसके’ श्रीधर भण्डारीले आफ्नो भोक पोखे । ‘छिटो पाक भनेर डेक्चीमा हात हाल्नु भएन, खुट्टा हाल्नु भएन, बरु मुसाको औषधि हालिदिनु प¥यो कि क्या हो भाइको पेटमा’ उनी पनि के कम । उनको जबाफले भोको पेट भए पनि सबै जनालाई मस्तसित हँसायो । चियामात्रै खाएर हिडेकोले हामी निकै भोकाएका थियौं तर खाना पाक्दा साढे एघार बजिहाल्यो । साथिहरुले थपिथपि भात खाए । खानाको पैसा दिन खोज्यौं तर उनीहरुले लिन मानेनन् । आफूले खाएका भाँडा आफै धुन खोज्दा पनि मानिनन् जयपुरी बहिनीले ।

 

खाना खाएर चुरेलाई दाहिने पार्दै फेरि पश्चिम तर्फको हिंडाई शुरु भयो । जङ्गलैजङ्गल, दशगजैदशगजा, कहिले उकालो, कहिले ओरालो निरन्तर हिडिरह्यौं ढुङ्गेलो बाटो । तातो घामले घरी गालामा, घरी निधारमा डाम्न छोडेको छैन । सालका रुखैरुखको बाक्लो जङ्गलको बीचैबीच बनेको दशगजालाई यहाँका गाउँलेहरुले बाटोमा रुपान्तरण गरिदिएका छन् । त्यसैमाथि हिडेर भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले गस्ती गर्न थालेपछि यो त अन्तराष्ट्रिय बाटो बनेको रहेछ । जताततै सालैसालका रुख, बाटोभरी सालकै पात खसेर सालमय भएको छ जङ्गल । सुकेका पातमाथि हिड्दा निस्किने आवाज पनि सङ्गीतमय बने झैं लाग्छ । सुनसान जङ्गलमा हामीले कुरा गर्दै हिडेको आवाज टाढा पुगेर बताससित ठोक्किदै फेरि फर्किएर यतै आउँछ । हाम्रै आवाज पनि अपरिचित बनेर तर्साएजस्तो गर्छ ।

 

छविलाल कोपिलालाई भेट्नै हम्मे । एकछिन भेटिन्छन् । ‘तपाइँहरुसित हिड्दा मेरो डोजै पुग्दैन’ भन्दै फेरि लमक्लमक लम्किदै अघिअघि हराउँछन् । बेलाबेला मिनबहादुर राना लोकगीत गाएर जङ्गलै थर्काउँछन् । डम्मर र आशिष चराजस्तै फिर्फिर गर्दै कहिले उफ्रेर रुखका हाँगा भाँच्छन् । कहिले बाटो वरपरका थुम्कामाथि चढ्छन् कहिले खोल्सामा हाम फाल्छन् । जङ्गलमा कुनै नयाँ चिज देख्यो कि टिपी हाल्नु पर्छ उनीहरुलाई । बनकुखुरा र फ्याउराहरु देख्यो कि लखेटिहाल्छन् । ‘अघिल्लो जुनीमा त यिनिहरु पक्का शिकारी नै थिए कि क्या हो?’ नीमबहादुरदाजु बेलाबेला उनीहरुको हौसलामा उत्साह थपिदिनु हुन्छ ।

 

बाटोमा गन्धैला नाका र छेकरिया नाका नामका साना गाउँ आए । गाउँ निकै सुनसान छन् । लाग्यो यी गाउँ मान्छेको बसोबास नभएका कुनै पुराना खण्डहर हुन् । डगमारा नाका पुग्न हामीलाई करिब तीन घण्टा लाग्यो । गन्धैला र डगमारा अलि अग्लो ठाउँमा रहेछन् । दुबै गाउँको तल गहिरो फाँटमा भारततिर सीमा सुरक्षाबलका ब्यारेक देखिए । डगमारा रसिलो रहेछ । गाउँ गहुँ र अरहरले हरियै देखियो । खेतैभरी गहुँका बाला लहलह झुलिरहेका छन् । बाटोको छेउछाउमा सालका स्याउलाले बेरेर बनाएका अस्थायी गोठहरु प्रशस्त देखिए । यहाँको दुध र खसीबोकाको खपत सीमा सुरक्षाबलका ब्यारेकमैं हुँदो रहेछ । गाउँका बाटा प्रायः सुनसान देखिन्छन् । डगमारामा सीमानै निर नेपालपट्टि ठूलो पानीको धारो देखियो । यति धेरै पानी बग्ने धारो सीमानाकाको यात्रामा कतै देखिएको थिएन । पानी पिएर एकछिन सुस्तायौं । धाराको छेउमा दुईजना महिलाहरु बसिरहेका थिए । परबाट आइरहेको हाम्रो डफ्फालाई उनीहरु आँखा नझिम्काएर क्वाक्र्वार्ति हेर्न लागे । उनीहरुको हामीप्रतिको उत्सुकतालाई हेर्दा लाग्यो, मानौ उनीहरु हाम्रै बाटो कुरेर बसेका हुन् । नजिक पुगेपछि नीमबहादुर दाजुले ‘के गर्न लागेको हो नानीहरु?’ भनेर गफिन खोज्नु भो ।

 

उनीहरुले के बुझे कुन्नि ‘इ देख्नु भएन? हामी त सुतेका छम्’ भनेर जिस्किदै उत्तर फर्काए ।

 

‘दिउँसै सुत्ने कस्तो चलन हो यो गाउँमा? त्यो पनि आँखा नचिम्लेर’ नीमबहादुर दाजुले पनि जिस्केकै शैलीमैं थप्नु भो । ती महिलाहरु पनि जे सोध्यो त्यस्को उल्टोपाल्टो जिस्किने पाराले जबाफ दिन थाले । ‘मजस्तो बुढो मान्छेसित पनि किन बाङ्गाटिङ्गा कुरा गरेका होलान्? यी नानीहरुले?’ उहाँ बाटोभरी जो भेटिए पनि केही न केही सोधेर डायरीमा टिप्दै हिड्नु हुन्थ्यो तर यहाँ निराशा हात लाग्यो । अन्ततः ‘नसकिने रैछ यी नानीहरुसित’ भन्दै बाटो लाग्नु भो ।

 

डगमाराबाट गम्भीरा नाका नामको सानो गाउँ काटेर एक घण्टामा स्युरेनी नाका पुग्यौं । स्युरेनी अलि फराकिलो फाँटमा फैलिएको गाउँ रहेछ । बाटोको छेउमा आँपका बोट लहरै उभिएका देखिए । चुरे पहाडको फेदमा थपक्क राखेका हरिया रुखहरुले शोभायमान छ यो गाउँ । बिहान अडबरुआदेखि दशगजाको किरिङ्मिरिङ बाटो भएर तय भएको थियो हाम्रो यात्रा । दशगजाको बाटो ठाउँठाउँमा अवरुद्ध भएपछि कहिले नेपालपट्टि लाग्यो कहिले भारतपट्टि लाग्यो । यसैगरी एकडेड घण्टा हिडेपछि नेपाली गाउँ देखिंदा पाइला गाउँतिरै मोड्यो । फेरि अर्को गाउँ जान दशगजामा झ¥यो । स्युरेनीसम्म दिनभरी चलिरह्यो यो क्रम निरन्तर । स्युरेनीबाट सुनपत्री जाँदा भने नेपालैनेपाल ट्र्ेक्टर हिड्ने घुले बाटोहुँदै हिड्न पाउँदा मन एकतमासले रमाएको छ । अघिल्तिर चुरेको एउटा होचो हाँगो उत्तर दक्षिण तन्केको देखियो । अहिल्यै दौडिदै गएर झ्याप्पै अँगालो हालौं जस्तो सलक्क परेको डाँडोको दृश्य निकै मनोरम छ । डाँडामाथि लहरै उभिएका रुखहरु पहरा दिइरहेका सैनिक जस्तै देखिए । त्यही पहाड बोकेर एक्लैएक्लै यी जङ्गल र यी पाखामा निस्फिक्री दौडिएको कल्पना गर्न थाल्यो मनले । हिड्दैहिड्दै त्यही पहाडको फेदमा रहेको सुनपत्री नाका पुग्यौं ।

 

गाउँका बाटाभरी हिलैहिलो, धुलैधुलो छ । हामी गाउँको चौबाटो निरको चौतारोमा बस्यौं । चौतारोनिर भीमबहादुर केसीको पसल रहेछ । पसलको आँगन र पिंढीमा केही मानिसहरु तास खेल्दै छन् । केही रक्सी पिउँदै छन् । हामी चिया पिउनपट्टि लाग्यौं । छेउको खोलामा पानीले चल्ने एउटा घट्ट पनि देखियो । लगभग पचास—बाउन्न ओटा घर भएको यो गाउँ सीमा क्षेत्रका अरु गाउँभन्दा केही चहलपहल भएको गाउँजस्तो लाग्यो । सीमापारि जङ्गल काटेर भारतको तकिया भन्ने ठाउँ पुगिन्छ रे । माटोमा खेलिरहेका नाङ्गा भुतुङ्गा केटाकेटीहरुको एक हुल धुलो उडाउँदै हामी भए तिर आयो । गुरुप्रसाद कुमाल ती केटाकेटीहरुसित गफिन लागे । उनले उनीहरुलाई गीत गाउन भने । एउटा केटाले मजाले गाइदियो ‘मङ्सिर आयो रहरै सेलायो, तिम्ले बास्तै गरिनौं के लायो? तिम्रो साथमा रातो पछेउरी, मलाई चिसो हावाले हानेको, खोई त माया गर्न जानेको?’ । अर्को केटा नाच्न लाग्यो । अरु केटाकेटीहरु ताली बजाउन लागे । एकछिन चौतारोनिर भिन्न खाले रमाइलो भयो । गुरुप्रसादले केटाकेटीहरुलाई पसलबाट चकलेट किनेर दिए । चुरे पारिबाट यहाँसम्म विकासको उज्यालो अझैं आइनसकेको भएपनि बद्री पगेनी र शकुन्तला थापाले गाएको दोहोरी गीत भने यहाँ पुगिसकेको रहेछ ।

 

चुरे फोडेर आएको सुनपत्री खोलाको बगर वरपर फैलिएको छ यो गाउँ । खोलाभरी ट्रेक्टर र मानिसको भीड छ । केही मानिस बालुवा ढुङ्गा खोस्रिरहेका छन् केही टे«क्टरमा गिट्टि ढुङ्गा लोड गर्दैछन् । नेपाली अनुहारका मान्छेको यत्रो हुल त्यो बाटो हिडेको कहिल्यै नदेखेका ती मानिसहरु काम रोकेर हामीलाई हेर्न लागे । ‘कहाँ लान्छन् होला यी गिट्टिढुङ्गा?’ बीपी अस्तुका पत्रकार आँखाले प्रश्न गरे चौतारोनेर उभिएका मान्छेहरुलाई ।

 

‘उतै लान्छन् भारततिर’ सबैले एकै स्वरमा जबाफ दिए ।

 

यहाँ न प्रहरी पोष्ट छ न कुनै सरकारी निकाय । गाउँलेहरुलाई ज्यालादारी काममा लगाउने मेट र ठेकेदारहरुकै हालीमुहाली चल्दोरहेछ यतातिर । काठ र गिट्टी ढुङ्गाका ठेकेदारहरु प्रायः भारतीयहरु नै रहेछन् । चुरे पहाड र खोलानालाहरुको दोहनलीला देखेर नमज्जा लागिरह्यो तर प्राकृतिक रुपले प्राञ्जल सुनपत्रीको सुन्दरताले हामीलाई भित्रैदेखि अनौंठो गरी लोभ्यायो । प्राकृतिक श्रोतमाथिको अतिक्रमण यसैगरी चलिरहने हो भने अर्को चोटी आउँदा यो ठाउँलाई यस्तै रुपमा हेर्न पाइने हो कि होइन? के थाहा ?

 

हामी सुनपत्रीमा केही बेर रमायौं । यहाँको सुन्दरता र चहलपहललाई हेरेर केही साथीले आज यतै बास बसौं पनि भनेका हुन् तर चार बजे नै बास बसी हाल्नु उपयुक्त लागेन । हामी फेरि खोलाको तिरैतिर पश्चितर्फ लम्कियौं । खोला दक्षिण लागेपछि हामी दुईवटा ससाना थुम्का काटेर पल्लोपट्टि ओर्लियौं । पल्तिर भेटियो सुकवा नाका । हरिया थुम्का पार गरेर यहाँ पुगेपछि थाहा भयो यो गाउँ त आफ्नो नामजस्तै सुकेको रहेछ । बैंस नआउँदै जिउ सुकेकी युवतिजस्तो उदासउदास देखियो सुकुवा नाका । आठ—दश वटा झुप्राहरु चुरे पहाडको साँगुरो खोंचमा छरिएर गाउँ बनेको छ । उत्तरबाट आएको सुकुवा खोलाको पानी पनि आफ्नो नामैलाई चरितार्थ गर्दै सुकेको रहेछ । सुकुवा खोलाको डिलमा बसेर हामीले सुनपत्रीबाट मिनरल वाटरको बोतलमा भरेर ल्याएको पानी पियौं । यहाँ साथीहरुले थकाई मेट्दै एकुन्टा रचना सुनाउन पनि भ्याए । दुईटा शेर फुरे । डायरीमा टिपें ः

 

हाँसेर हिड्ने क्रममा यहाँसम्म आइएछ
अनिश्चित यो जनममा यहाँसम्म आइएछ
कहिले बनेर यात्रु कहिले बनेर यात्रा
केही दिनको रमझममा यहाँसम्म आइएछ

 

अरु शेर अगाडिको बाटोमा थप्दै जाउँला भनेर थाँती राखें ।

 

एकै ठाउँमा बस्नलाई हामी यहाँ आएका होइनौं । निरन्तर नयाँनयाँ ठाउँ पुग्नु, नयाँनयाँ बाटो हिड्नु र नयाँनयाँ अनुभूति बटुल्नु हाम्रो उद्देश्य हो । फेरि सुकुवा नाकाबाट अगाडि बढ्यो हाम्रो डफ्फा । गाउँ काट्ने बित्तिकै जङ्गल आयो । हिड्दै गर्दा जङ्गलमा बाटो हराएपछि हामी बिलखविन्दमा प¥यौं । फर्किने कुरा थिएन । जे त पर्ला? जहाँ त पुगिएला ! भनेर अघि बढी रहँदा पहाडको बीचमा एउटा खोल्सो भेटियो । त्यसको किनारमा गाईबस्तु हिंडेका डोब भेटिएपछि हामी त्यसैलाई पच्छ्याएर हिडिरह्यौ । अलि पर गएपछि उत्तरबाट आएको खोलामा मिसियो यो खोल्सा । खोलामा पानी पिएका गाईबस्तुका हुल पल्लोपट्टिको बाटो फर्किरहेका थिए । हामी तिनैलाई फछ्याउँदै पछिपछि लाग्यौं । बाटो भेटियो । बाटोको छेउछाउमा फाट्टफुट्ट घर देखिए । यही रहेछ भैंसाही नाका ।

 

रात पर्न थालिसक्यो तर वरपर हाम्रो डफ्फा अटाउने जस्तो बास बस्न लायकको घर भेटिएन । हामी वरपर नजर लगाउँदै हिडिरह्यौं । भैसाही नाका ससाना पहाडको बीचमा बगेका थुप्रै खोल्साहरुको छेउछाउमा फैलिएको गाउँ रहेछ । कुनै खोला उत्तरबाट दक्षिण बगेका छन् कुनै खोला पुर्वबाट पश्चिम बगेका छन् ।

 

‘यो गाउँलाई खोलाहरुको नेटवर्क भन्न मन लाग्यो’ डम्मरले बिम्ब जोडे ।

 

सेतो रङ्गले पोतिएको एउटा काठे घर देखियो । एउटी महिला घरको आँगनमा कुखुराका चल्लाहरुलाई चारो छरिरहेकी छन् । हामीले बास माग्यौं ।

 

‘घरमा कोही छोरा मान्ठ छैनन्’ भन्दै टिठाउँदो मुख लगाईन् ।
‘यो बाटो अगाडि जानुहोस् ठूलो गाउँ आउँछ त्यहाँ बास बस्न समस्या हुन्न’ भनेर हामीलाई बाटो पनि देखाइदिइन् । हामी अघि बढ्यौं ।

 

झमक्क रात परिसक्यो । जिउ थाकेर डल्लो परेको छ तर अझैं बासको टुङ्गो छैन । वरपर केही नदेखिने भैसक्यो । अँध्यारोमा कालो छायाजस्तो देखिने माथिको पहाड र तलको खोलाको अनुमान गर्दै बाटो हिडिरह्यौं हामी । अलि फराकिलो ठाउँमा एउटा स्कुल देखियो । टर्च बालेर हेरेको साइनबोर्डमा गौरीशङ्कर निम्न माध्यमिक विद्यालय भैसाहीनाका लेखिएको रहेछ । छेउमा दुई ओटा घर पनि रहेछन् । तीन जना शिक्षक भेटिए । परिचय भो । विद्यालयका प्र.अ. भदैप्रसाद यादवको घर कपिलबस्तु रहेछ । नरेश बुढा मगरको घर रुकुम र रामबहादुर पुनको घर मनौरानाका रहेछ । उनीहरु खाना खाएर सुत्न लागेका रहेछन् । हाम्रो यात्राको प्रयोजन बुझेपछि उनीहरु निकै खुसी भए । हेडसर यादबले सत्त्ताइस वर्ष अस्थायि सेवा गरेर उमेरको हदले आजै अवकाश लिएका रहेछन् । बिदाई भोज खाएर सुत्ने तरखर गरिसकेका भएपनि नरेशसर र रामसर हाम्रोलागि खाना बनाउन तम्सिए । हामीलाई ढुङ्गो खोज्दा देउता पाएजस्तै भयो । खाना खाएर भुइँमा सुत्ने व्यवस्था गरियो । यादबसरले भावविह्वल मुद्रामा निकै बेरसम्म आफ्ना अनुभव सुनाई रहे । उनको जागिरे जीवनको नियति मात्र होइन हामी उनकै अवकाशको दिनमा त्यहाँ पुग्नुको संयोग पनि अचम्मै लाग्यो ।

 

खाना खाएर सुत्ने तरखर गर्दा एघार बज्दै छ । मनमा अनेकौं तर्कना खेलिरहेका छन् । थकाई बढी भए पनि निंद्रा पर्न सायद असहज हुँदो रहेछ । कानमा एअरफोन घुसारेर मोबाइलका गीत सुन्दै मनको अस्तव्यस्ततालाई व्यवस्थित गर्ने प्रयत्नमा लागें । योगेश वैद्यले गाएको रत्न शम्शेर थापाद्वारा लिखित पुरानो गीतको झङ्कारमा गएर मन टक्क अडियोः

 

आँखैमा रात ढली शीतैमा तारा डुबे
बाटैमा आँधी चली आशाका मुना उडे

 

यही गीत सुन्दासुन्दै भुसुक्कै निद्रा लागि दिए पनि हुन्थ्यो । आजलाई त जसरी पनि नसुती भएको छैन ।