सीमामा पर्खालका लागि राष्ट्रिय आपतकाल लगाउन पनि तयार छु, डोनाल्ड ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा कांग्रेसको सहमति बिना पर्खाल बनाउनका लागि राष्ट्रिय आपतकालको घोषणा गर्ने चेतावनी दिएका छन् । सीमा क्षेत्रमा बनाउने पर्खालको विषयलाई लिएर अमेरिकामा बजेटको विषयमा सहमति जुटेको छैन। संघीय सरकारका कार्यालयको कार्य सञ्चालनका लागि दिइने खर्च सम्बन्धी विधेयकमा सहमति नजुट्दा आंशिक सरकारी कार्यालयको काम गएको डिसेम्बर २२ देखि ठप्प छ ।

राष्ट्रपति ट्रम्पले सीमा पर्खाल बनाउनका लागि बजेटको व्यवस्था नगरेसम्म आफूले संघीय कार्यालयको कार्यसञ्चालन सम्बन्धी बजेटको ऐन स्वीकृत नगर्ने बताएका छन् । राष्ट्रपति ट्रम्प सीमा पर्खाल बनाउनका लागि बजेटको व्यवस्था सरकारी कोषबाट गराउन चाहन्छन् । तर सिनेटरहरु भने यसमा सहमत भएका छैनन् । विशेष गरी डेमोक्र्या्टिक पार्टीका सिनेटरले सीमा पर्खालका लागि सरकारी कोष खर्च गर्नु हुँदैन भन्ने पक्षमा छन् ।

 

यसबारे सहमति जुटाउने प्रयासमा राष्ट्रपति ट्रम्पले डेमोक्र्या्टिक पार्टीका शीर्ष नेतासँगको भेटपछि ट्रम्पले कांग्रेसको सहमति बिना नै सीमा पर्खाल बनाउनका लागि आफू राष्ट्रिय आपतकाल लगाउन पनि पछि नहट्ने बताएका हुन् । डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि राष्ट्रपति ट्रम्पले अमेरिका र मेक्सिकोबीच पर्खाल लगाउने विषयलाई कंग्रेसले बेवास्ता गरे राष्ट्रिय आपतकालको घोषणासमेत गर्न सकिने बताए ।

 

यही विवादका कारण अमेरिकाका ८ लाख संघीय कर्मचारीले गत डिसेम्बर २२ देखि तलवसमेत पाएका छैनन् । यो विवाद सुल्झाउन ह्वाइट हाउसमा भएको बैठकको सुरुमा राष्ट्रपति ट्रम्पले सकारात्मक कदम भएको प्रतिक्रिया दिएका थिए । तर, एक पत्रकारले सोधेको प्रश्नमा उनले आवश्यक परे संघीय एजेन्सीहरुलाई केही वर्षसम्म बन्दसमेत गर्ने चेतावनी दिएका हुन् ।

 

उनले देशको शान्ति सुरक्षाका लागि आफू जेसुकै गर्न पनि तयार रहेको बताए । बैठकपछि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले गतिरोध अन्त्यका लागि भएको बैठक विवादग्रस्त भएको बताए । उनले संघीय सरकारको कामकाज सुचारु गर्न आफूहरु सकारात्मक भए पनि राष्ट्रपतिको अडानले अप्ठेरो पारेको प्रतिक्रिया दिए ।