एकताको डेढ वर्षमै फुट्यो विवेकशील साझा पार्टी , उज्वलको नेतृत्वमा नयाँ दल दर्ता

काठमाडौं ,पुस २७। आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी फुटेको छ । पार्टीका एक संयोजक उज्ज्वल थापालगायतले नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव गरिएको छ । यस्तै केन्द्रीय समितिको ४० प्रतिशत विवेकशील साझाबाट अलग्गिन चाहेको पनि निवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ । उज्जल थापासँगै रञ्जु दर्शना, मिलन पाण्डे, प्रदेश ३ का सांसद विराज भट्ट, प्रदेश ३ कै सांसद रमेश पौडेल, सुबुना बस्नेत, डाक्टर अनुषा थापालगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन ।

 

केही समय अघिदेखि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र उज्ज्वल थापाबीच मतभेद बढेको खबर सार्वजनिक भएको थियो । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

 

तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेका हुन् ।‘हामीले भन्दै आएको सुसंस्कृत र वैकल्पिक राजनीति हुँदैन भन्ने लाग्यो’ एक नेताले भने, ‘यसरी सँगै बस्नुभन्दा अलग अलग रुपमा बस्नु बेस भन्ने भयो ।’विवेकशील र साझा पार्टीबीच ११ साउन २०७४ मा मात्र पार्टी एकता भएको थियो । तर, डेढ वर्षमा नै विवेकशील पक्ष पुरानै पार्टी ब्यूाताउन लागेका हुन् ।