माघे संक्रान्तिलाई नवलपुरबाट मात्रै एक करोड बीस लाख बढीको तरुल निर्यात

   शोभा जिसी

नवलपरासी, पुस ३०। पूर्वी नवलपरासी अर्थात नवलपुर जिल्लाबाट मात्रै यस बर्ष माघे संक्रान्तिका लागि काठमाडौं र पोखरामा एक सय २० टन भन्दा बढी तरुल खपत भएको छ ।

 

कृषि उपज बजार व्यवस्थापन समिति कावासोतीका अध्यक्ष लेखनाथ बस्यालका अनुसार नवलपुरबाट एक सय २० टनभन्दा बढी तरुल खपत भएको हो ।

थोक भाउमा किसानसँग प्रति किलो ८० देखि ९० रुपैयाँका दरले खरिद गरी एक सय रुपैयाँका दरले विक्री भएको छ । कृषि उपज बजार व्यवस्थापन समितिले कावासोतीमा पहाडी तथा ग्रामिण क्षेत्रमा उत्पादन भएको कृषि उपजलाई कावासोतीमा जम्मा गरेर बाहिरी सहरहरुमा पठाउने गर्दछ ।

 

गत बर्षसम्म नवलपुरमा उत्पादित तरुल काठमाडौं लगेर विक्री गर्नु पर्ने अवस्था रहे पनि यस बर्ष भने व्यापारीहरु कावासोतीमै आएर खरिद गरेर लगेका थिए ।

स्थानीय थोक व्यापारी तथा व्यवासयिक तरकारी खेती किसान थमन सिंह रजालीले यस बर्ष नसोचेको भएको बताए । उनले भने गत बर्षसम्म काठमाडौं पोखरा लगेर छाड्नु पर्ने बाध्यता थियो भने अहिले काठमाडौं र पोखराका व्यापारीहरु तरुल खरिद गर्न कावासोती नै आएका थिए । उनले आफूले मात्रै १० टन भन्दा बढी तरुल विक्री गरेको बताए । माघे संक्रान्तिमा खाइने विभिन्न परिकारहरु मध्ये तरुल मुख्य मानिन्छ ।

 

यस बर्ष नवलपुरबाट एक करोड २० लाख भन्दा बढीको तरुल काठमाडौं र पोखराका व्यापारीले खरिद गरेर लगेको रजालीले बताए ।

रजालीका अनुसार काठमाडौं र पोखरामा नवलपुरबाट लैजाने पन्जे तरुल (हात्तीपाइले तरुल) सबैभन्दा बढी मूल्य पर्ने तरुल हो । यो काठमाडौं र पोखरामा सजिलै बजार पाउने गर्दछ । काठमाडौंमा बढी रुचाइने र काठमाडौंमा नवलपुरबाट आएको तरुल भने पछि सजिलै विक्ने गरेको रजालीले बताए ।

नवलपुरको देउराली, रुचाङ्ग, जौवारी, धौवादी, हुप्सेकोट, डेढडाउँ, बुलिंगटार लगायतका क्षेत्रमा सबैभन्दा बढी तरुल उत्पादन हुने क्षेत्र हो ।

यहाँ पन्जे (हात्तीपाइले) तरुलका अलवा वन तरुल, मोडे तरुल, खकरखण्ड लगायतका विभिन्न प्रकारका तरुलहरु उत्पादन हुने गर्दछ । ति मध्ये पन्जे तरुल काठमाडौं र पोखरामा निक्कै लोकप्रिय रहेको उनले बताए । पोखरामा पन्जे र काठमाडौंमा हात्तीपाइले नामले चिनिने यस तरुल अदुवा र पिडालुसँग लगाएर मात्र फल्ने भएको भएर स्थानीय क्षेत्रमा भने पिडालु तरुलको नामले पनि चिनिने गर्दछ ।

 

त्यसैगरी नवलपुरको स्थानीय बजार कावासोती, अरुणखोला, दुम्किबास, प्रगतिनगर, गैडाकोट, रजहर, चोरमारा, डण्डा लगायतका बजारहरुमा पनि ४० देखि ५० टनको हाराहारीमा तरुल खपत भएको रजालीले बताए ।

 

स्थानीय बजारमा पन्जे तरुल महंगो भएको कारण निक्कै काम विक्री हुने गरे पनि नवलपुर क्षेत्रमा भने मोडे तरुल, वन तरुल, सकरखण्ड जस्ता तरुल सबैभन्दा बढी विक्री हुने गर्दछ ।

माघे संक्रान्तिको दिन खाइने विभिन्न परिकारहरु मध्ये तरुल एक मानिन्छ । यो दिन तरुल खाएपछि चिसो हटेर जाने विश्वास गरिन्छ ।

काठमाडौं पोखरा लगायतका मुख्य बजारमा नवलपुरका यस आसपासका जिल्ला पाल्पा, तनहुँ लगायतका जिल्लाबाट पनि तरुल लैजाने गरिन्छ ।