रेशम चौधरीलाई सपथग्रहण गराइएको बारेमा पार्टीमा छलफल भएको छैन: नेता भीम रावल

अछाम, माघ ३ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले टिकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई सपथग्रहण गराइएको विषयमा पार्टीमा छलफल भएको छैन । नेता रावलले निमला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने आफुले पटकपटक आवाज उठाएको बताए ।

 

पूर्वउपप्रधान तथा रक्षा मन्त्री समेत रहेका नेता रावलले केही समयम अघि बसेको स्थायी कमिटि बैठकले दिएको सुझाव अनुसार पार्टी एकताको कामले गति लिन नसकेको बताए । अछाम सदरमुकाम मंगलसैनमा प्रेस संगठन अछामले गरेको पत्रकार सम्मेलनमा नेता रावलले यस्तो बताएका हुन् ।

 

नेता रावलले पुस मसान्तभित्र केन्द्रीय कमिटिका सदस्यको जिम्मेवारी बाँडफाँड, जिल्ला कमिटि गठन लगायतका काम गर्ने गरी ९ सदस्यीय कार्यदल बनाईएको भएपनि काम सम्पन्न नभएको र यसबाट विभिन्न क्षेत्रमा समस्या भएको उनको भनाइ छ ।

 

पत्रकार सम्मेलनमा नेता रावलले सरकार संचालन गर्दा पनि पार्टीले संघीय, प्रदेश तथा स्थानीय चुनावमा अघि सारेको चुनावि एजेण्डा र घोषणा पत्र अनुसार अघि बढ्नुपर्ने बताए । जिल्ला कमिटीभन्दा तलका कमिटिको प्रस्ताव अछाम जिल्लाबाट समेत पठाइसकेको र आगामी दिनमा अझै प्रभावकारी रुपमा सरकार अघि बढ्ने नेता रावलले बताए ।

 

सुदूरपश्चिमको विकासका विभिन्न योजनालाई प्रभावकारी रुपमा अघि बढाउन आफूले सरोकारवालालाई घच्घचाइरहेको नेता रावलको भनाइ थियो । अब छिट्टै सेती लोकमार्गको काम अघि बढ्ने भन्दै उनले मध्येपहाडी लोकमार्गले समेग गति लिएको बताए । पश्चिम सेती निर्माणका लागि सरकारलाई खबदारी गरीरहेको भन्दै नेता रावलले नेपालकै महत्वपूर्ण योजनाका रुपमा रहेको माथिल्लो कर्णाली जलविद्युत आयोजनामा चलखेल भैरहेको भन्दै आफूले खबरदारी गरिहेको स्ष्ट पारे ।