निर्मला पन्तको हत्याको छानबिनका लागि काङ्ग्रेस सडक र सदनबाट लड्छ :युवा नेता विश्वप्रकाश शर्मा

भीमदत्तनगर माघ, ७ । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सोमबार बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको घरमै पुगेर न्यायका लागि कांग्रेसले साथ दिने बताएका छन् ।

 

कञ्चनपुर भीमदत्तनगरपालिका-२ स्थित निर्मलो घरमा पुगेका उनले कांग्रेसले सरकारलाई गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन दबाब दिँदैं आएको भन्दै अघि भने–’ निर्मला प्रकरणको अनुसन्धान गर्न काङ्ग्रेस सदन र सडकबाटै शसक्तरूपमा अघि बढ्छ । घटनास्थलबाटै भएका कमी कमजोरी वा लापरबाहीबाट अनुसन्धान थाल्नुपर्छ ।

 

भेटमा निर्मलाकी आमा दुर्गादेवीले सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गरेकी थिइन् । यस्तै, सोमबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले वर्तमान सरकार जनताको जनजीविकासँग गम्भीर नभएको आरोपसमेत लगाए ।

 

उनले दुईतिहाइ बहुमतको सरकारका पालामा देशमा अशान्ति, महङ्गी तथा भ्रष्टाचार निकै बढेको दावी गरे । जनताका दैनिक उपभोग्यका वस्तुमा मूल्य आकासिँदासमेत सरकार त्यसतर्फ उदासीन बनेको उनको भनाइ छ ।

 

काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रवक्ता शर्माले डाक्टर गोविन्द केसीको आन्दोलनका सम्बन्धमा सरकारले आफैँले गरेको सम्झौता लत्याएको आरोप लगाए ।