केसीका पक्षमा भोलिदेखि डाक्टरहरूले सामूहिक अनसन थाल्ने

काठमाडौँ, १३ माघ । नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक संशोधन गर्न माग गरेको छ।

१६ औं पटक आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीका माग पूरा गराउन दबाब दिन आन्दोलनरत चिकित्सकले सोमबारबाट बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सामूहिक रूपमा त्रिवि शिक्षण अस्पतालमा अनसन बस्ने घोषणा गरेका छन्।संवेदनशील राज्यमा सत्याग्रह ठूलो आन्दोलन भए पनि सरकारले डाक्टर केसीलाई बेवास्ता गरेको भन्दै चिकित्सक असन्तुष्ट छन्।

 

सत्याग्रह नै ठूलो आन्दोलन हो। तर यहाँ विडम्वना, राज्यले आफैंले सम्झौता गरेको मसी सुक्न नपाउँदै बेइमानी भयो,’ संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले बेइमानी गर्नु हुन्न। प्रधानमन्त्री जोसुकै होस्। उहाँ आजीवन यो पदमा बस्ने होइन। प्रधानमन्त्रीको पदको गरिमामा आँच आइराखेको छ। सम्माननीय प्रधानमन्त्रीलाई पदको गरिमा राख्न अनुरोध गर्दछौं।

 

प्रधानमन्त्रीलाई दुइ तिहाइको गर्व नगर्न पनि आन्दोलनरत चिकित्सकहरुले आग्रह गरेका छन्। ‘प्रधानमन्त्री होइन संसारका बादशाह, तानाशाह ढलेका छन्। दुई तिहाइको गर्व नगर्नुस्, कुनै दिन पछुताउन पर्ने हुन्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘तीन करोड नेपालीको मर्म र भावनालाई छुने माग डाक्टर केसीले राखेका छन्।

 

डाक्टरहरूलाई फुटाउने हाम्रो संगठनलाई फुटाउने र डर देखाउने काम भएको छ।नेपाल चिकित्सक संघ चिकित्सकहरूको संगठन भएको र कसैको भातृ संगठनको रूपमा नबुझ्न पनि उनले आग्रह गरे।

 

चिकित्सक संघ कसैको झन्डा बोकेर हिँड्दैन। कसैको भातृ संगठन होइन,’ उनले भने।चिकित्सा शिक्षामा कांग्रेस र कम्युनिष्ट दुबैले राजनीतिकरण गरेको चिकित्सकहरूको भनाइ छ। सांसदहरू जनतामुखी नभएर पैसामुखी भएको आरोपसमेत उनीहरुले लगाए।

 

डाक्टर केसी हाम्रो आजीवन सदस्य हो। केसीको समर्थनमा कडा आन्दोलन चाल्न परे पनि चाल्छौं। सबै उर्लेर आउँछौं,’ उनले भने, ‘सरको माग पूरा नभए सत्ता ढालेर छाड्छौं। चिकित्सा शिक्षा विधेयक संशोधन गर्नुपर्छ।

 

सरकार डाक्टर केसीका माग पूरा नगरी कुबुद्धिमा लागेको चिकित्सक संघको आरोप छ। ‘कुबुद्धिमा सरकार लाग्नु हुन्न। सुबुद्धिमा लागेर समस्याको समाधानमा लाग्नुपर्छ,’ उनले भने, ‘सरकारको डर, धम्कीबाट हामी डराउँदैनौं।

 

हिजोका दिनमा चिकित्सकहरू आन्दोलनमा सडक झरेपछि मात्रै आन्दोलन निर्णायक मोडमा पुग्ने गरेको तर्क गर्दै अध्यक्ष श्रेष्ठले नेताहरुलाई समयमै आँखा खोल्न आग्रह गरे।

 

खुट्टा नकमाऔं, केसीका माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ। सत्ताको नजिक भएर केही पाउँला भनेर सोच्नुभएको छ भने भ्रममा नपर्नुस्, अप्ठेरो पर्दा संगठन चाहिन्छ, आन्दोलनमा होमिनुस्,’ अध्यक्ष श्रेष्ठले चिकित्सकहरुलाई आग्रह गरे।