ज्यानमारा बिजुली तार, प्रदेश २ मा ६ महिनायता करेन्ट लागेर ४५ जनाको मृत्यु

जनकपुर, माघ १४ । धनुषाको सबैलामा शनिबार जन्ती बोकेर फर्कंदै गरेको बसले बिजुलीको नाङ्गो तार छुँदा ६ जनाको मृत्यु भयो । जनकपुरको कुवारामपुरमा माघ ५ गते सडकमा लत्रिएको तारमा मोटरसाइकलले छुँदा दुई जनाको ज्यान गयो ।

 

दुवै ठाउँमा लत्रिएको तार व्यवस्थित गर्न स्थानीयले महिनौंअगाडि नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिएका थिए। कुवारामपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएपछि प्राधिकरणका कर्मचारीले तार व्यवस्थित गरेका छन् भने सबैलामा अझै व्यवस्थापन गरिएको छैन। ‘हामीले लत्रिएको तार व्यवस्थित गर्न निवेदन दिएका थियौं,’ कुवारामपुरका दिलीप मण्डले कान्तिपुरसँग भने, ‘दुई जनाको ज्यान गएपछि मात्रै प्राधिकरणका कर्मचारीले तार सुरक्षित बनाए।’

 

प्राधिकरणले आवश्यक बजेट नभएकाले तार व्यवस्थित गर्न नसकेको जनाएको छ। विद्युत् प्राधिकरण पोखरियाका प्रमुख सुधीर रायले स्थानीयले रकम जम्मा गरेपछि मात्र तार व्यवस्थित हुने बताए। ‘पोल सार्नका लागि प्राधिकरणसँग बजेट छैन,’ उनले भने।

 

नेपाल विद्युत् प्राधिकरण जनकपुरका प्रमुख सूर्यनारायण मण्डलले धनुषामा विद्युतका तीन जना प्रमुख रहेको भन्दै दुर्घटनाको विषयमा बोल्न चाहेनन्। ‘जिल्लामा तीन जना प्रमुख हुनुहुन्छ, व्यवस्थित गर्ने काम भइरहेको छ,’ उनले भने।

 

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार ६ महिनायता प्रदेश २ को ८ जिल्लामा करेन्ट लागेर ४५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना बालक पनि रहेको डीएसपी दानबहादुर थापाले बताए।    कान्तिपुर दैनिकबाट