निर्मलाको ‘भजाइनल स्वाब’सँग आमा दुर्गादेवीको डीएनए मिल्यो

कन्चनपुर, माघ १४ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको डीएनए उनकी आमा दुर्गादेवीको डीएनएसँग मेल खाएको छ ।

मृतक पन्तको शवबाट निकालिएको भनिएको भजाइनल स्वाबमाथि नै प्रश्न उठेपछि वैधानिकता जाँच गर्न आमा दुर्गादेवीको डीएनए परीक्षण गरिएको थियो । प्रहरीको विधि विज्ञान प्रयोगशालाले परीक्षण गरेको दुर्गादेवीको डीएनए र बालिकाको डीएनए मेल खाएको प्रहरीले जनाएको छ ।

रिपोर्टमा निर्मलाको डिएनएसँग आमा दुर्गादेवीको डिएनएसँग मेल खाएको उल्लेख छ । दुर्गादेवीको डीएनए निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मेल खाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए ।

निर्मलाको शरीरबाट निकालिएको डीएनएमाथी शंका गर्दै वास्तविक भए÷नभएको पुष्टि गर्न माग गरिँदै आएको थियो । आफूले अपराध गरेको स्वीकार गरेकै व्यक्तिको डीएनए नमिलेपछि निर्मलाको भजाईनल स्वाबबाट संकलन गरिएको डीएनए वास्तविक भएरनभएको पुष्टि गर्न दुर्गादेवीले गत पुस २५ गते आफ्नो रगतको नमूना दिएकी थिइन् ।

कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मलाको हत्या भएको ६ महिना बितिसकेको छ । तर, अहिलेसम्म वास्तविक दोषि पत्ता लाग्न सकेको छैन । अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्टलगायत झन्डै एकसय जनाको डीएनए परीक्षण गरिसकिएको छ ।