विद्यार्थी स्कूल नआए अभिभावकलाई फोन

दुल्लु,  माघ १५ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी स्कूल आए÷आएनन् भन्नेबारे विद्यालयका शिक्षकले खासै वास्ता गर्दैनन् । निजी विद्यालयले आफ्ना विद्यार्थी स्कूल नआए, स्कूल नआउनुको कारणबारे खोजी गर्ने गरे पनि सामुदायिक विद्यालयले त्यति चासो दिएको पाँइदैन । दैलेखका केही सामुदायिक विद्यालयले भने विद्यालय नआउने विद्यार्थीका अभिभावकलाई फोन गरी नआउनुको कारणबारे सोध्ने गरेका छन् ।

 

गुराँस गाउँपालिका–६ पिलाडीस्थित आदर्श आधारभूत विद्यालय चौताराले नआउने बालबालिकाका अभिभावकलाई फोन गर्ने गरेको छ । अभिभावकलाई फोन गर्दा विद्यार्थीको नियमितता बढेको सो विद्यालयका प्रधानाध्यापक योगेन्द्र रानाले बताउनुभयो । विपन्न समुदायका बालबालिका नियमित विद्यालय नआउने गरेको पाइएको छ । फोन गर्दा विद्यार्थी विद्यालय आउन थालेको राना बताउनुहुन्छ । आर्थिक तथा पारिवारिक समस्याका कारण अधिकांश विद्यार्थी विद्यालय भर्ना भए पनि नियमित भने आउँदैनन् ।

 

विद्यार्थी कक्षामा नियमित उपस्थित नहुनुको कारणबारे विद्यालय व्यवस्थापन समितिको बैठकमा छलफल गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव विकले बताउनुभयो । शिक्षक र अभिभावकको संयुक्त बैठकमा छलफल गरी समस्या समाधानका लागि पहल गरिने उहाँको भनाइ छ । विद्यालयमा झण्डै १५० विद्यार्थी अध्ययनरत छन् । सोही गाउँपालिकाको वडा नं ३ स्थित शान्ति माध्यामिक विद्यालयले पनि नियमित विद्यालय नआउने विद्यार्थीका अभिभावकलाई फोन गर्ने गरेको प्रधानध्यापक विष्णु शर्माले बताउनुभयो । दलित तथा जनजाति बालबालिकाको बाहुल्यता रहेको उक्त विद्यालयमा विद्यार्थी नियमित विद्यालयन नआउने समस्या छ । अभिभावकलाई फोन प्रायः कक्षा शिक्षकले गर्ने गर्छन् ।   रासस