जलवायु परिवर्तनले धकेलियो हिउँदे झरी

काठमाडौं, फागुन ६ । मध्य हिउँदपछि हरेक साताजसो हिउँदे झरी दोहोरिन थालेपछि हिउँदले विदा माग्न पाएको छैन । अझै जाडो घटेको छैन ।

भू–मध्य सागरको वायुको प्रभावले देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का हिउँदे झरी र हिमपातको गतिविधि दोहोरिदैछ । आइतवार धेरै ठाउँको मौसम सुधार भएपनि सोमवार विहानैदेखि मुलुकको सुदुर पश्चिमी भेगको मौसम प्रभावित हुँदैछ भने साँझसम्ममा त्यस्तो प्रभाव अन्यत्र पनि फैलदैछ ।

 

अंग्रेजी महिनाका डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदयाम मानिन्छ भने यो अवधिमा हुने वर्षालाई मौसमविद्हरु हिउँदे वर्षाका रुपमा बुझ्ने गर्छन् । तर केही वर्षयता हिउँदे झरी हिउँदयामको आखिरीतर्फ धकेलिदै गएको छ । किन यस्तो, भन्ने प्रश्नमा वरिष्ठ मौसमविद् मणिरत्न शाक्य भन्नुहुन्छ– ‘जलवायु परिवर्तनको प्रत्यक्ष÷अप्रत्यक्ष असरले यस्तो भइरहेको छ, मंसिर अन्तिममा पर्नुपर्ने पानी पुस अन्तिम र माघ लागेपछि मात्रै पर्न थालेको छ ।’

 

काठमाडौ विश्वविद्यालयका आगन्तुक प्राध्यापक समेत रहनु भएका शाक्य विगत डेढ दशकयता नेपाल सहित दक्षिण एसियाली मनसुन र हिउँदे झरीको गतिविधिबारे अनुसन्धान गर्दै आउनु भएको छ ।

 

मनसुनको अवधि पनि धकेलिएर असोजसम्म पुग्ने गरेको बताउँदै उहाँले भन्नुभयो– ‘हिउँदमा ढिलै गरी पानी त पर्छ, तर मेघ गर्जन सहित पर्नुपर्ने पानी र त्यस्तो लक्षण हिजो–आज निकै घटेको छ ।’ सवारी साधन र उद्योग कलकारखानाबाट निस्कने प्रदुषित वायुले पनि मौसमी चक्रलाई प्रभावित बनाउँदै समय अगावै हिमालय श्रृखंलामा हिउँ पग्लिने गरेको शाक्यको बुझाई छ ।

 

मौसमविद्हरुका अनुसार मार्च, अप्रिल र मे महिना ‘प्री मनसुन’ अर्थात् मनसुन पूर्वाद्धको समय हो । जुन दोस्रो सातादेखि सेप्टेम्बर चौथो साता नेपालका लागि सक्रिय मनसुन अवधि हो भने नोभेम्बर महिना मनसुन उत्तराद्र्ध अर्थात् ‘पोस्ट मनसुन’ अवधि हो । नेपाल समाचारपत्रबाट ।