महिला विश्वकप छनोटमा नेपालले मलेसियालाई ३४ रनले हरायो

काठमाडौं, फागनु ७ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले मंगलबार भएको खेलमा मलेसियालाई ३४ ले पराजित गरेको हो।

 

नेपालले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा ९२ रन मात्र जोड्यो। थाइल्यान्डका लागि ओपनर तथा कप्तान विनिफ्रेड दुराइसिंघमले १८ रन र क्रिस्टिना बारेटले २१ रन जोडे। सास अजमिले नटआउट १६ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन।

 

बलिङमा नेपालकी सरिता मगर र करुणा भण्डारीले २–२ विकेट लिए। सीता रानामगर र कविता कुँवरले १–१ विकेट हात पारे। थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो।

 

नेपालका लागि ओपनिङ खेलाडी सीता रानामगरले ४२ रन जोडिन्। सीताले ४० बलमा २ चौका हिर्काइन्। सीता र अर्की ओपनर काजल श्रेष्ठले पहिलो विकेटका लागि ४६ रन जोडेका थिए।

 

कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन्। उनले २५ बल खेल्दा ३ चौका प्रहार गरिन्। त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले ६ रन जोडिन्।

नेपालले मलेशियापछि दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग बिहीबार खेल्नेछ। एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन्। राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।