सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

काठमाडौँ, फागुन २७ । छोराका लागि नेपाली माध्यममा पढाइ हुने विद्यालय खोज्दै पुल्चोकका लक्ष्मण बोहरा एक साता भौँतारिनुभयो । आफू बसेको क्षेत्र वरपर कुनैपनि विद्यालयले माथिल्ला कक्षामा नेपाली माध्यममा नपढाएपछि गत साता उहाँ महानगरपालिकामा आउनुभएको थियो ।

 

कक्षा ८ मा अध्ययनरत छोरालाई आगामी शैक्षिक सत्रदेखि नेपाली माध्यममा पढाउने योजना भएको उहाँले बताउनुभयो । महानगरपालिकाले उहाँलाई भित्री भागमा कुनै पनि विद्यालयले नेपाली माध्यममा अध्यापन नगरेको जनायो । उहाँले भन्नुभयो, “कि टाढा पढाउने कि त अङ्ग्रेजीमा नै पढाउनुपर्ने भयो ।”

 

काठमाडौँ उपत्यकाका शहरी क्षेत्रका अधिकांश विद्यालयले अङ्ग्रेजी माध्यममा पढाउन थालेपछि बोहराजस्तै धेरै अभिभावकले चाहेर पनि नेपाली माध्यममा पढाउन पाएका छैनन् । विद्यालयले अभिभावकको रुचिका कारण अङ्ग्रेजीमा पढाएको बताउँदा कतिपय अभिभावक भने चाहेर पनि नेपाली माध्यममा पढाउन नपाएको गुनासो गर्छन् । काठमाडौँ उपत्यकामा एक दशक अघिदेखि केही विद्यालयले अङ्ग्रेजीमा अध्यापन थालेका थिए । तल्ला कक्षाबाट शुरु गरेका विद्यालयले वर्षेनी एक कक्षा माथि गर्दै १० कक्षासम्म अङ्ग्रेजीमा पढाइरहेका छन् ।

 

अङ्ग्रेजी माध्यमबाट अध्यापन शुरु गरेपनि पूर्ण रुपमा लागू नभएको उपत्यकाका दुवै महानगरपालिकाले जनाएका छन् । काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम पोखरेलले धेरै विद्यालयले अङ्ग्रजी माध्यममा पढाउँदा मात्रै ‘गुणस्तरीय शिक्षा’ हुने बुझेको बताउनुभयो । विद्यालयले कुनै एउटा मात्रै माध्यममा पढाउन नहुने उहँको जोड छ । विद्यालयले अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै विद्यालय र अभिभावकले यसलाई भाषाका रुपमा नभएर ज्ञानका रुपमा बुझेका छन्, जुन परिवर्तन गर्न आवश्यक छ ।”

 

जिल्ला शिक्षा अधिकारी पोखरेलका अनुसार महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये अधिकांशले अङ्ग्रेजीमा पढाउन थालेका छन् । दरबन्दी पर्याप्त भएका कतिपय विद्यालयले यो माध्यममार्फत राम्रो गरेका छन् । कतिपय विद्यालयले अङ्ग्रेजी माध्यममा पढाउनकै लागि नयाँ शिक्षक विद्यालयमा ल्याएका छन् । कतिपय विद्यालयले भने शुरु गरे पनि त्यसमा राम्रो गर्न सकिरहेका छैनन् । उहाँले भन्नुभयो, “विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउँदा विद्यार्थी सङ्ख्या बढ्छ भन्ने भ्रम रहेको पाइन्छ ।”

 

काठमाडौँ जस्तै ललितपुर महानगरपालिकाका अधिकांश विद्यालयले अङ्ग्रेजी माध्यममा पढाइरहेका छन् । माध्यामिक तहका सबै विद्यालयले अङ्ग्रेजी माध्यममा नै पढाइरहेको शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार महानगरपालिकामा २०२ विद्यालयमध्ये ४० सामुदायिक विद्यालय छन् र तिनले अङ्ग्रेजीमा पढाइरहेका छन् ।

 

माध्यामिक तहका सबै विद्यालयले अङ्ग्रेजी माध्यममा नै पढाइरहेका छन् भने निम्न माध्यामिक र प्राथमिक तहका विद्यालय अङ्ग्रेजी माध्यमलाई माथिल्लो कक्षासम्म पु¥याउन लागिपरेको उहाँले बताउनुभयो । “कतिपय विद्यालयले सबै तहमा अङ्ग्रेजी माध्यममा पढाइसके भने कति त्यहाँ पुग्न लागेका छन्”, उहाँले भन्नुभयो, “सबैको लक्ष्य भनेको अङ्ग्रेजी सबै कक्षामा पु¥याउने नै रहेको छ ।” महानगरपालिकाका कतिपय विद्यालयले अङ्ग्रेजी माध्यममा पढाएर राम्रै गरिरहेको भए पनि कतिपयमा अन्योलताको अवस्था रहेको ललितपुर महानगरपालिकाले जनाएको छ ।

 

कतिपय विद्यालयले अङ्ग्रेजी माध्यमका कारण विद्यार्थी आकर्षित गरिरहेको क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार अङ्ग्रेजी माध्यममा राम्रो गरेका विद्यालयका कारण विपन्न वर्गका अभिभावकले अङ्ग्रेजीकै लागि निजी विद्यालयमा सन्तान पढाउनुपर्ने बाध्यता हटेको छ । कतिपय विद्यालयमा भने शुरु गरेपनि दक्षजनशक्तिको अभावका कारण राम्रो गर्न सकिरहेका छैनन् । उहाँले भन्नुभयो, “विद्यालयले निजीसँग प्रतिष्पर्धा गर्नकै लागि पोशाक र माध्यम दुवै निजी जस्तै गर्न थालेका हुन ।”

 

शहरी क्षेत्रका सामुदायिक विद्यालयमा वर्षेनी विद्यार्थी सङ्ख्या घट्दै गएपछि विद्यालयले अङ्ग्रेजी माध्यममा पढाउन शुरु गरेका थिए । यसले केही विद्यालयमा विद्यार्थी सङ्ख्या बढे पनि कतिपयमा विद्यार्थी सङ्ख्या घट्ने क्रम रोकिएको छैन । वर्षेनी विद्यार्थी सङ्ख्या घटिरहनु सामुदायिक विद्यालयको ठूलो समस्याका रुपमा रहेको छ । रासस