निर्मला हत्या प्रकरण : तत्कालीन एसपी विष्टसहित आठजनाको थुनछेक बहस सकियो, आज फैसला

कञ्चनपुर,फागुन ३०।बालिका निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा ‘यातना तथा सार्वजनिक’ न्यायविरुद्धको कसुरमा मुद्दा चलाइएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित आठजनाको थुनछेक बहस सकिएको छ । जिल्ला अदालतमा न्यायाधीश डा। राजेन्द्रप्रसाद आचार्यको इजलासमा दुई दिन भएको बहसको सुनुवाइ बिहीबार हुने अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।

वादी, प्रतिवादी र एमिकस क्युरीका अधिवक्ताले मंगलबार र बुधबार बहस गरेका थिए । तत्कालीन एसपी विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीश भट्ट, सइद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदको थुनछेक बहस भएको हो ।

 

आठैजनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुरमा प्रहरीमा मुद्दा दायर गरेकी थिइन् । यस्तै, एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्स्पेक्टर खड्काविरुद्ध दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले पनि यातना कसुरसम्बन्धी मुद्दा दायर गरेका थिए । निर्मलालाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय दिलीपलाई पक्राउ गरी डिल्ली विष्ट नेतृत्वको प्रहरीले यातना दिएर अपराध स्विकार्न बाध्य पारेको थियो । ४ भदौमा अभियुक्तका रूपमा सार्वजनिक गरेका उनी पछि डिएनए रिपोर्टमा निर्दोष देखिएका थिए ।

 

प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा आठैजनाविरुद्ध मुद्दा दायर गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाले पूर्वएसपी विष्ट र सिआइबीका डिएसपी अंगुर जिसीबाहेक सबै प्रहरी अधिकृत र कर्मचारीलाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको बताए । अदालतले विष्ट र जिसीका नाममा पनि पत्र काटेको छ । स्रेस्तेदार अवस्थीले विष्ट र जिसीका नाममा ३५ दिनभित्र आदालतमा उपस्थित हुन पत्र काटेको बताए । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।