निर्मला हत्या प्रकरण : आरोपी ६ प्रहरीलाई धरौटीमा छोड्न आदेश

भीमदत्तनगर,फागुन ३०।कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन् ।

 

जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा। राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनछेक बहसपछि आदेश जारी गर्दै यातनाविरुद्धको कसूरमा मुद्दाका प्रतिवादी तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र प्रहरी निरीक्षक एकिन्द्र खड्कालाई रु ५र५ लाख धरौटीमा रिहाइको आदेश गरेको छ ।

 

सो मुद्दामा अन्य प्रतिवादी तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्ट र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी फरार रहेको जिल्ला अदालतले जनाएको छ । त्यसैगरी सार्वजनिक न्यायविरुद्धको कसूरमा तत्कालीन प्रहरी नायब उपरीक्षक सेटी, प्रहरी निरीक्षकद्वय खड्का र जगदीशप्रसाद भट्टलाई पनि रु ४र४ लाख धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

 

त्यसैगरी उक्त सार्वजनिक न्याय कसूरविरुद्धको मुद्दाका प्रतिवादी तत्कालीन प्रहरी नायब निरीक्षक हरिसिंह धामीलाई रु ३ लाख ५० हजार र प्रहरी नायब निरीक्षक रामसिंह धामीलाई रु ३ लाख तथा प्रहरी जवान चाँदनी साउदलाई रु २ लाख ५० हजारमा धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

 

गत पुस ३ गते निर्मला पन्तकी आमा दुर्गादेवीले छोरीको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसूरमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्टसहित आठ प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

 

उक्त घटनामा प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेका भीमदत्तनगरपालिका–१९ बाघफाँटाका दिलिपसिंह विष्टका दाजु खड्का विष्टले भाइ दिलीपलाई अनुसन्धानका क्रममा प्रहरी हिरासतमा यातना दिएको भन्दै प्रहरी प्रमुख विष्टसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।

 

“अदालतमा अनुपस्थित रहेकाको सवालमा पनि कानूनी प्रक्रिया अघि बढेको छ ।” जिल्ला अदालतका डिठ्ठा रुद्रप्रसाद बोगटीले भने, “फरार प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन ३५ दिने सूचना जारीसमेत भइसकेको छ ।” उनले आज बेलुकी ५ बजेसम्म धरौटी बुझाउन नसक्ने प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिने बताए ।

 

साथीको घरबाट गृहकार्य गरेर घर फर्किरहेकी पन्तको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो । रासस