भारतीय एसएसबीद्वारा कञ्चनपुरको ब्रम्हदेबमा सडक निर्माणमा अवरोध

कञ्चनपुर ,चैत ८ । कञ्चनपुरको ब्रम्हदेबमा नेपाली भूमिममा फेरी भारतीय पक्षबाट अवरोध सिर्जना भएको छ । नेपाली पक्षले भीमदत्त नगरपालिका ९ ब्रम्हदेबमा सडक निर्माण गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले अवरोध गरेका हुन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले शुक्रबार ब्रम्हेदब–टनकपुर जोड्ने नेपाल तर्फको भूमिमा सडक कालोपत्रे गर्ने कार्य अवरोध र्पुयाएको हो । न्यू जोशी कस्ट्रक्सनका संचालक भीमराज जोशीका अनुसार एसएसबीले अवरोध गरेपछि सडक निर्माण कार्य रोकिएको छ। माथिको आदेश छैन भन्दै काम गर्न रोकेका जोशीले बताए। सडक कालोपत्रे गर्न निर्माण सामाग्रीसहित गएको टिमलाई भारतीय पक्षले अबरोध पुयाएपछि निर्माण सामाग्री सडकमै थन्किएको छ।

 

भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिह धामीले नेपाली पक्षले आफ्नो सडक कालोपत्रे गर्ने क्रममा भारतीय पक्षले अवरोध गरेको बताए। उनका अनुसार एसएसबीले विवादित क्षेत्र भन्दै निर्माण कार्य रोक्न भनेपछि काम रोकिएको हो।

 

भारतीय पक्षले काम रोकेपछि प्रशासकीय अधिकृत धामी, प्राविधिक तथा भिमदत्त नगरपालिका–९ र १० न. वडाका वडा अध्यक्ष सडक निर्माण स्थलमा पुगेका थिए। नेपाली पक्षसँग भारतीय एसएसबीले ‘भारत सरकारको अनुमति पत्र ल्याउनु अन्यथा काम रोक्नु’ भनेको धामीले बताए।

 

उनले यससम्बन्धमा प्रमुख जिल्ला अधिकारीलाई खबर गरिएको र प्रजिअ शुशिल कुमार बैद्य लगायत सुरक्षा निकाय र सरोकारवालाले केही छिनमा उक्त क्षेत्रको स्थलगत अध्ययन गरेर समस्याको निकास निकाल्ने प्रयास भईरहेको जानकारी दिए।

 

भिमदत्त नगरपालिकाले चालु आर्थिक बर्ष २०७५-०७६ को नगरपालिकाको योजना अनुसार ४३ लाख लागतमा १.३८ मिटर सडक कालोपत्रे गर्नका लागि न्यू जोशी कस्ट्रक्सनलाई जिम्मा दिएको थियो। ब्रम्हेदब बजारबाट भाततर्फ जाने सडकमा भारतीय पक्षले आफ्नो क्षेत्रमा यसअघि नै सडक पक्की बनाइसकेको छ।