सम्मेलनलाई लक्षित गरी बढाइयो सुरक्षा सतर्कता

काठमाडौं, चैत ११ । लगानी सम्मेलनमा आउने विदेशी लगानीकर्तालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतमै रातो कार्पेट बिच्छाएर स्वागत गर्ने तयारी गरिरहेका बेला काठमाडौं उपत्यकामा सुरक्षा सर्तकता पनि बढाइएको छ ।

 

सम्मेलनको मिति नजिकिँदै जाँदा उपत्यका र आसपासका भेगमा सादा पोशाक र हतियार सहितका सुरक्षाकर्मी खटिएका छन् । सम्मेलनस्थल होटल सोल्टी आसपासका भेग, पाहुना बस्ने विभिन्न होटल, उपत्यकाका मुख्य चोक र विशिष्ट पाहुना ओहोर–दोहोर गर्ने सडकमा नियमित सुरक्षा निगरानी बढाइएको नेपाल प्रहरीले जनाएको छ । सम्मेलन आगामी शुक्रवार र शनिवार काठमाडौंमा हुँदै छ ।

 

शसस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी सम्मेलनको सुरक्षाकालागि खटिने भएकाले केही दिनयता तीनवटै सुरक्षा निकायको समन्वयमा नियमित रुपमा सुरक्षाकर्मी खटिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताउनुभयो । ‘उपत्यकाको सुरक्षा अवस्था अहिले नर्मल छ, तर सम्मेलनलाई लक्षित गरी नियमित सुरक्षाकर्मी खटिएका छन्’–उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

 

सम्मेलनलाई लक्षित गरी २ हजार सुरक्षाकर्मी खटिने बताइएको छ । सम्मेलनमा विश्व बैंकका उपाध्यक्ष हाट्र्विङ सेफर, फ्रान्सका विदेश राज्यमन्त्री जीन ब्यापटिस्ट लिमोइन, म्यानमारका लगानी तथा वित्तसम्बन्धी मन्त्री ऊ थाङ चुन लगायतका विशिष्ट पाहुना सहित विभिन्न मुलुकका लगानीकर्ता सहभागी हुने लगानी बोर्डले जनाएको छ । भारत, चीन, बंगलादेश, श्रीलंका, सिंगापुर, हङकङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनाम लगायत जस्ता मुलुकबाट मुलुकका संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सहभागी हुने बताइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।