यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको खेलमा नेपाली टिमले भारतलाइ पराजित

काठमाडौं, चैत ११ । यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका क्रममा भारतमा रहेको नेपाली टिमले आन्ध्र प्रदेशको यू–१९ टिमलाई एक विकेटले पराजित गरेको छ । यसअघिको दुई अभ्यास खेलमध्ये नेपालले एकमा जित र एकमा हार ब्यहोरेको थियो ।

 

आन्ध्रको टिमले दिएको २२८ रनको लक्ष्य पछ्याउँदा नेपाली कप्तान रोहित पौडेलले ७१ रनको उत्कृष्ट इनिङ खेलेपछि नेपालले जितको आधार तयार पारेको थियो । रोहितले ६५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए ।

 

दुई ब्याट्सम्यान आउट भएपछि क्रिजमा आएका रोहितले कप्तानी पारी खेलेका थिए । उनले ४० बलमा अर्धशतक पार गरेका थिए । भिम सार्की अर्धशतक बनाउनबाट एक रनले चुके । उनी ४९ रन बनाएपछि क्याचआउट भएका थिए । सन्दिप जोराले १९ रन बनाए ।

 

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको आन्ध्र यू–१९ ले ४९।१ ओभरमा सबै विकेट गुमाउँदै विकेट २२७ रन बनाएको थियो । दोस्रो ओभरमै नेपालका प्रतिस जिसीले ओपनर हर्षबर्द्धनलाई आउट गरेका थिए । २०औंं ओभरमा सागर ढकालले नितिसलाई क्याच आउट गराए । उनले ५१ रन बनाएका थिए ।

 

रामप्रसाद २६ रन बनाएर पवन सर्राफको बलमा क्याचआउट भएका थिए । ४०औं ओभरमा नेपालले तेस्रो सफलता हात पार्‍यो । सवन सर्राफले सुब्रमन्यमलाई ४५ रन बनाएको अवस्थामा क्याचआउट गराए ।

 

यस्तै योगानन्दले ५९ रन बनाए । आन्ध्रका पछिल्ला क्रमका ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ कमल सिंंह ऐरीले चार विकेट लिए भने पवन सर्राफले तीन विकेट लिए । प्रतिश जिसी, राशिद खान र सागर ढकालले पनि एक एक विकेट लिए ।