निजी छाडेर सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित

डोटी, चैत १२ । जिल्लाका निजी विद्यालयमा पढ्ने विद्यार्थी हिजोआज सामुदायिक विद्यालयमा भर्ना हुन थालेका छन् । राम्रो पढाइ हुनथालेपछि निजी छाडेर सामुदायिक विद्यालयतर्फ विद्यार्थी आकर्षित भएको सामुदायिक विद्यालयका शिक्षकको दाबी छ ।

 

विगतकोभन्दा केही फरक तथा शिक्षाको गुणस्तर पनि राम्रो भएकाले विद्यार्थीको आकर्षण बढ्न थालेको भूमिराज मावी सलेनाका पूर्वप्रधानाध्यापक जगतबहादुर बलायरले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “यहाँका सामुदायिक विद्यालयले पछिल्लो समय आफ्नो पढाइ तथा शिक्षाको गुणस्तर सुधारेका कारण निजी छोडेर विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुन थालेका हुन् ।” जिल्लाको शिखर नगरपालिका–१ केदारेश्वर मावि कपल्लेकी, आदर्श गाउँपालिकास्थित तलारामा रहेको तलारा मावी, सदरमुकाम सिलगढीमा रहेको पद्मपब्लिक मुक्तिनायरण मावि, दिपायलमा रहेको दिल्पेशवर मावि, जोरायल गाउँपालिका– १ मा रहेको घण्टेश्वर मावि जोरायललगायतका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्न थालेको सो क्षेत्रका अभिभावक बताउँछन् ।

 

जोरायल गाउँपालिका– ६ का चित्रराज भट्टले भन्नुभयो, “पछिल्लो समय पढाइको स्तर बढेकाले निजीमा पढ्ने विद्यार्थीसमेत सामुदायिक विद्यालयमा पढ्न आउन थालेका छन् ।” अन्य जिल्लामा सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा यहाँका केही सामुदायिक विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकको दाबी छ । पछिल्लो समय यहाँका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु हुन थालेको छ ।

 

केही सामुदायिक विद्यालयमा प्रशस्तरुपमा कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेल मैदान, विद्यालय प्रवेश गर्ने बित्तिकै अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेको शिखर नगरपालिका वडा नं १ कपल्लेकीका वडाध्यक्ष खड्क शाहीले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “विद्यालयको पढाइदेखि अन्य वातावरणसमेत शान्त र अकर्षण भएकाले विद्यार्थी र अभिभावकको रोजाइमा अहिले सामुदायिक विद्यालय पर्न थालेका हुन् ।” स्थानीय अभिभावकका अनुसार यहाँका सामुदायिक विद्यालयमा अहिले दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । डोटीसँगै जोडिएका अछाम, डडेल्धुरा तथा बैतडीका विद्यार्थी यहाँका सामुदायिक विद्यालयमा पढ्न आउन थालेको आदर्श गाउँपालिकामा रहेको तलारा माविका प्रधानाध्यापक टेकबहादुर सिंहले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “हामीले पढाइको गुणस्तर सँगसँगै अन्य वातावरण पनि राम्रो बनाएकाले हामीकहाँ जिल्ला बाहिरबाट पनि पढ्नका लागि विद्यार्थी आउन थालेका छन् ।” यहाँका सामुदायिक विद्यालयले पछिल्लो समय आफ्नो पढाइको गुणस्तरमा सुधार ल्याएसँगै विद्यार्थी सङ्ख्या पनि बढाउन थालेको दिपायल घोल्तडाका स्थानीय बहादुरे कोलीले बताउनुभयो । निजीमा पढ्ने विद्यार्थी धमाधम सामुदायिक विद्यालयमा पढ्न जान थालेपछि निजी विद्यालय सञ्चालनमा समस्या हुन थालेको बताइएको छ ।

जेठभित्र साक्षर जिल्ला घोषणा

जेठ मसान्तभित्र डोटी जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लालाई पूर्ण साक्षर बनाउनका लागि यहाँका स्थानीय तहका प्रमुखले प्रतिबद्धता गरेका छन् । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण साक्षर घोषणा गरेर जेठभित्र जिल्लालाई नै पूर्ण साक्षर घोषणा गर्ने योजना बनाइएको छ । गाउँपालिकालाई साक्षर घोषणा गर्नका लागि आफ्नो गाउँपालिका अहिले नै तयार रहेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो ।

 

“हामी सरकारले लिएको लक्ष्य पूरा गर्न हरसम्भव प्र¥यास गर्छौं”, उहाँले भन्नुभयो, “जेठ महीनाभित्र पूर्ण साक्षर गाउँपालिका बनाउँछौँ ।” शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा स्थानीय सरकारका प्रमुखले आआफ्ना गाउँपालिका पूर्ण साक्षर हुने अवस्थामा रहेकाले केही बाँकी काम तत्काल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘साक्षर नेपाल, समृद्ध नेपाल, खुशी नेपाली’ भन्दै सरकारले नेपाललाई २०७६ भित्र पूर्ण साक्षर राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गहेन्द्र गौतमले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको लक्ष्यअनुसारको स्थानीय सरकारको पनि प्रतिबद्धता आएको छ हामी खुशी छौँ ।”

 

गाउँपालिकालाई साक्षर बनाउनका लागि सबै संयन्त्र परिचालन गरेर काम गर्ने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्शीलाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आमा समूह, महिला बाल क्लब सबै परिचालन गर्छौं, एक व्यक्तिले एक व्यक्ति साक्षर गर्ने कार्यक्रम नै अघि सार्छौं ।” शिक्षा क्षेत्र व्यवस्थित नहुँदा काममा समस्या भएको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “नेपालमा सबैभन्दा बढी शिक्षा क्षेत्रलाई सरकारले अस्तव्यस्त पारेको छ । त्यही भएर पनि यो व्यवस्थित सञ्चालन गर्नेगरी ऐन निर्देशिका तयार गर्नु पर्दछ ।” सरकारले निर्धारण गरेका मापदण्ड आफ्नो गाउँपालिकाका सबै नागरिकले पूरा गरेको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले साक्षर हुनका लागि तयार गरेका १२ मापदण्डभित्र हाम्रो गाउँपालिकाका सबै नागरिक पर्छन्, हाम्रो गाउँपालिका पनि तयार छ ।” सरकारको लक्ष्यअनुसार साक्षर जिल्ला घोषणा गर्नका लागि आफू तयार रहेको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो ।

 

नेपालका ४८ जिल्ला साक्षर जिल्ला घोषणा भएका छन् भने २९ वटा बाँकी रहेको शिक्षा तथा मानव स्रोत विकास विभागले जानकारी दिएको छ । साक्षर मान्नका लागि सरकारको १२ वटा सूचक निर्धारण गरेकाले उक्त सूचक पूरा भएका सबैलाई साक्षर मान्ने सरकारले नीति ल्याएको छ । डोटीमा ९१ प्रतिशत नागरिक साक्षर रहेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख अनन्तकुमार पौड्याले जानकारी दिनुभयो । समान्य अक्षर चिन्न र पढ्न सक्ने, बिलको रकम चिन्न तथा मोबाइल चलाउन जान्ने जस्ता मान्छेलाई साक्षर भएको मान्ने नीति छ । रासस