प्रधानमन्त्रीको विमान ‘होल्ड’ प्रकरण : ‘कर्मचारी नै प्रमुख दोषी’

काठमाडौँ, चैत १२ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको यती एयरलाइन्सको विमान काठमाडौं अवतरणका क्रममा ‘होल्ड’ गरेको विषयमा छानविन गर्न बनेको समितिले नागरिक उड्डयन प्राधिकरण, यती एयरलाइन्सको अन्तर्राष्ट्रिय विमानस्थल र झापाको चन्द्रगढीका कर्मचारीलाई प्रमुख दोषी देखाएको छ ।

 

मन्त्रालयलाई प्रतिवेदन बुझाउँदै समितिले लापरवाही गर्ने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

गत फागुन २३ गते बिहीबार साँझ झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौं अवतरण हुँदा विमान १५ मिनेटजति ‘होल्ड’ भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले समितिले प्रतिवेदन बुझाइसकेको बताउनुभयो ।

 

‘समितिले छोटो समयमा नै काम सकेको छ’ –प्रवक्ता उपाध्यायले भन्नुभयो । उपाध्यायले त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, यती एयरलाइन्सको अन्तर्राष्ट्रिय विमानस्थल र झापाको चन्द्रगढीका कर्मचारीलाई प्रमुख दोषी देखाउँदै कारबाहीका लागि सिफारिस गरिएको बताउनुभयो ।
विमानमा प्रधानमन्त्री रहेको भन्ने जानकारी नभएकाले ‘होल्ड’ भएको विमानस्थलले त्यतिबेला प्रतिक्रिया दिएको थियो । तर प्रधानमन्त्रीले भने यो घटनालाई लिएर शंका व्यक्त गर्नुभएको थियो । उहाँले आफूमाथि षड्यन्त्र भएको समेत भन्नुभएको थियो ।

 

मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको थियो । आचार्यले प्रतिवेदन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाइसकिएको बताउनुभयो । ‘हामीले प्रतिवेदन बुझाइसकेका छौं, अब अन्य प्रक्रियामा अघि बढ्छ’ –संयोजक आचार्यले भन्नुभयो । नेपाल समाचारपत्रबाट।