कानुन व्यवसायी आज नेतृत्व चुन्दै

काठमाडौंँ,चैत १६  । देशभरिका कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनमा नयाँ नेतृत्वको लागि शनिबार मतदान हुँदैछ । विधिको शासन र मानव अधिकारको रक्षा गर्दै लोकतन्त्र प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको नेपाल बारले मतदानबाट आफ्नो तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्व निर्वाचित गर्दैछ ।

नेपाल बारको निर्वाचन समितिले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । काठमाडौंँ उपत्यकाभित्र र बाहिरको सबै मतदान केन्द्रमा मतपत्र पठाइसकेको बताउनुहुँदै निर्वाचन समितिका संयोजक दामोदर खडकाले शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न हुने दाबी गर्नुभयो ।

वि।सं। २०१३ सालमा स्थापित नेपाल बारले मतदानबाट आफ्नो २५ औंँ नेतृत्व चयन गर्दैछ । देवनाथ बर्माको संयोजकत्वमा २०१३ साल पुस २८ गते नौ सदस्यीय समितिबाट बार एसोसिएसनको गठन भएको थियो । स्थापना भएपछि नागरिकको सवैंधानिक, मौलिक र न्यायिक हक सुनिश्चित गर्न अग्रस्थानमा रहेर कानुन व्यवसायीहरूको छाता सङ्गठन बारले आन्दोलन गर्दै आएको छ ।

“६२ वर्ष लामो इतिहास रहेको बारमा २०४६ सालसम्म राजनीति हाबी थिएन,” बताउनुहुँदै वरिष्ठ अधिवक्ता समेत रहनुभएका प्राध्यापक प्रकाश केसी भन्नुहुन्छ , “पञ्चायतविरुद्ध एकजुट रहेको बार दलीय आस्थाको आधारमा विभाजित हुन पुग्दा अहिले आएर न्यायपालिकाको गरिमा समेत घटेको छ ।

अधिवक्ता सुदीप कोइरालाले व्यावसायिक हकहितसँगै न्यायपालिका कस्तो हुने, के गदैछ, के गर्नुपर्छ खबरदारी गर्नुपर्ने भएकाले बारको नेतृत्व गर्ने व्यक्ति स्वतन्त्र हुनुपर्ने तर्क गर्नुहुन्छ ।
देशभरिमा कुल १० हजार ३१३ मतदाता रहेको बार एसोसिएसनमा काठमाडौँ उपत्यका भित्र छ हजार पाँच सय र बाहिर तीन हजार ८१३ जना सदस्य छन् ।

तीन दशकअघिसम्म थोरै सङ्ख्यामा रहँदा बार नेतृत्वले बोलेको गम्भीरतापूर्वक लिने न्यायालयले पछिल्ला वर्षहरूमा बारको निर्णय सुन्नै छोड्नुको कतिपय कानुन व्यवसायीका भनाइ छ । त्यसको प्रमुख कारण दलीय आस्थाको आधारमा बारमा आबद्ध कानुन व्यवसायीको विभाजन रहेको वरिष्ठ अधिवक्ता केसी दाबी छ ।

काठमाडौं उपत्यकाभित्र सर्बोच्च अदालत, नेपाल बार एसोसिएसन, उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतमा मतदान केन्द्र रहने छ । २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्षमा आठ जना, महिला उपाध्यक्ष, प्रदेश ३ को उपाध्यक्ष एवम् महासचिव पदमा तीन—तीन जना र बाँकी छ प्रदेशको उपाध्यक्ष पदमा १४ जना र सदस्यमा ३२ जना उम्मेदवार रहेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी काठमाडौँ बाहिर ३४ मतदान केन्द्र तोकिएको छ । सबै मतदान केन्द्रमा मतपत्र, मतदाता नामाबली, निर्वाचन आचारसहिंता, स्थानीय मतदान समितिका प्रतिनिधिको विवरण पठाइसकिएको निर्वाचन संयोजक दामोदर खडकाले जानकारी दिनुभयो । बार एसोसिएसनको मतदानको लागि १९६ मतदाताले मतदान केन्द्र स्थानान्तरण गराउनुभएको छ ।यो समाचार गोरखापत्र दैनिकीमा छ ।