भारतमा लोकतन्त्रको महासंग्राम, जनताको आत्महत्या (भाजपा) लाई झट्का

काठमाडौं । पुरानो लोकतन्त्र भएको देश भारतमा बिहीबारदेखि आमनिर्वाचन शुरू हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा मताधिकार प्रयोग गर्न समय नजिकै पुग्दा र आफ्नो नेता छान्न पाउँदा हर्षित हुनुपर्नेमा दुःखद घटना सुनिएका छन् ।

छिटपुट वा अपवाद भएपनि निर्वाचनको मुखमा जनताले आत्महत्या गरेर देशभर सन्देश दिन खाज्नु सामान्य घटना होइन । निर्वाचनको मुखैमा उत्तराखण्ड प्रदेशको हरिद्वार जिल्ला लक्सरस्थित डडकी गाउँका किसान ६५ वर्षीय ईश्वर चन्द शर्माले भारतीय जनता पार्टी (भाजपा) लाई भोट नदिन भन्दै आत्महत्या गरेका छन् ।

 

पछिल्ला विवरण र सर्वेक्षणअनुसार भारतमा पुनः भाजपाले नै बहुमत ल्याउने र नरेन्द्र मोदी प्रधानमन्त्री हुने आकलन गरिएको छ । तर किसान वर्गमा उनीप्रति खासै आशा नभएको शर्माको आत्महत्याले संकेत गर्छ । द टाईम्स अफ इन्डियाको समाचारअनुसार विष सेवन गरी आत्महत्या गरेका शर्माले सुसाइड नोटमा लेखेका छन्, ‘भाजपा सरकारले बितेका पाँच वर्षमा किसानलाई बर्बाद गरेको छ । त्यसैले उसलाई भोट नदिनू, नत्र उसले हर एकलाई चिया बनाउन लगाउँछ ।’

 

सायद किसानमा अरु पार्टी वा भारतीय कांग्रेसले जितेपनि केही सुधार हुने आशा छैन । मोदीभन्दा अघि कांग्रेसकै सरकार भएपनि किसानलाई खासै लाभ मिलेको थिएन । राजनीतिक प्रणाली र व्यवस्थाप्रति निराश बनेका जनताले चुनावको मुखमा आत्महत्या रोजे । उत्तराखण्डबाटै आत्महत्याको खबर आइरहँदा बिहीबारदेखि उत्तराखण्ड लगायत २० वटा प्रदेशमा निर्वाचन हुँदैछ ।

 

छिटपुट किसानले आत्महत्या रोजेपनि बिहीबारदेखि शुरू हुने चुनावमा भारत होमिएको छ, बहुसंख्यक जनताले मताधिकार प्रयोग गर्दैछन् । भाजपाबाट नरेन्द्र मोदी र कांग्रेसबाट राहुल गान्धीले चुनावी रथ हाकिरहेका छन् । मूलतः भारतीय चुनाव मोदी भर्सेस गान्धी बनेको छ ।

९० करोड मतदाता, ५४३ सांसद छानिने

भारतको जनसंख्या १ अर्ब ३० करोडभन्दा बढी छ । तर आजदेखि शुरू भएको निर्वाचनमा ९० करोडभन्दा बढी मतदाता सहभागी हुने छन् । यसअघि सन् २०१४ को निर्वाचनमा ८१ करोड मतदाता थिए ।

 

मतदानका लागि १० लाख बढी मतदान केन्द्र निर्धारण गरिएका छन् भने ८ हजार २ सय ५१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । चुनाव सकिएपछि २३ मईदेखि हुने मतगणनाबाट ५ सय ४३ सांसद निर्वाचित हुनेछन् ।

देशभर सात चरणमा चुनाव

बिहीबारबाट शुरू हुने निर्वाचन सात चरणमा हुने गरी तोकिएको छ । पहिलो चरणमा बिहीबार २० प्रदेशका ९१ सीटमा मतदान हुँदैछ ।दोस्रो चरणमा १८ अप्रिलमा १३ प्रदेशका ९७ सीटमा मतदान हुनेछ । तेस्रो चरणमा २३ अप्रिलमा १४ प्रदेशका ११५ सीटमा मतदान हुनेछ भने चौथो चरणमा २९ अप्रिलमा ९ प्रदेशका ७१ सीटमा मतदान हुनेछ 

 

निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसार पाँचौ चरणको मतदान ६ मईमा ७ प्रदेशका ५१ सीटमा हुनेछ । छैठौं चरणको मतदान १२ मईमा ७ प्रदेशका ५९ सीटमा हुनेछ भने सातौं चरणको मतदान १९ मईमा ८ प्रदेशका ५९ सीटमा हुनेछ । विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने भएका कारण मई २३ तारिखदेखि मतगणना शुरू भएलगत्तै निर्वाचन परिणाम सार्वजनिक हुन शुरू हुनेछ ।

कसको छ पल्ला भारी 

विभिन्न क्षेत्रीय दलले स्थानीय स्तरमा तथा भाजपा र कांग्रेसले देशभर प्रतिस्पर्धा गरिरहेका छन् । कतिपय प्रदेशमा स्थानीय दलले समेत राष्ट्रिय दललाई टक्कर दिने देखिएको छ । तर स्थानीय दल सरकारको नेतृत्व गर्ने गरी भने नआउने निश्चितजस्तै छ ।नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले अपेक्षाकृत काम गर्न नसकेका कारण सत्तारुढ दलप्रति सर्वसाधारणमा असन्तुष्टि छ ।

 

तर त्यो असन्तुष्टिबाट कांग्रेसले फाइदा लिन सक्ने पनि स्पष्ट चित्र देखिएको छैन । चुनावअघि भएका सर्वेक्षणले केही कमजोर अवस्था भएपनि भाजपाले नै सत्ताको बागडोर सम्हाल्ने विश्लेषण गरेका छन् । मोदीको पुनरावृत्ति नै भारतका अधिकांश मतदाताको मूड रहेको विश्लेषण गरिएको छ । नरेन्द्र मोदीको उदय हुनुअघि कांग्रेसको पालामा मनमोहन सिंहले दुई पटक सत्ता सम्हालेका थिए । यसपटक नरेन्द्र मोदीले सत्ता सम्हाल्ने अवसर पुनः पाउने अनुमान गरिएको छ । एजेन्सी,