अस्ट्रेलियामा मे १८ मा चुनाव

सिड्नी,चैत २८। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले मे १८ मा संसदको चुनाव गरिने बिहीबार घोषणा गर्नुभएको छ ।

यस पटकको निर्वाचनमा सत्तारुढ दलले तेस्रो कार्यकालका लागि प्रयत्न गर्नेछ । सङ्घर्षरत वर्तमान प्रधानमन्त्री मरिसनले चुनाव जित्न निकै मिहिनेत गर्नुपर्ने मतसर्वेक्षणहरुले देखाएका छन् ।

 

अस्ट्रेलियाको चुनाव सामान्यतया दुई पार्टीबीच निकै प्रतिस्पर्धी हुने गरेको छ । मत सर्वेक्षणहरुमा लिबरल पार्टीका नेता स्कट मरिसन र लेबर पार्टीका नेता बिल शोर्टेन दुबैको स्वीकार्य दर कम देखिएको छ । दुबै नेताले आमजनतालाई आफूतर्फ आकर्षित गर्न प्रयास गरिरहनुभएको छ ।

 

मरिसनले करिब एक वर्षअघि लिबरल पार्टीभित्र विद्रोह गरी प्रधानमन्त्री पदमा पुग्नुभएको हो । पार्टीका नरमपन्थी र राष्ट्रवादीहरुबीचको विभाजनलाई मत्थर बनाउनु पनि मरिसनका लागि अर्को चुनौती हो । उहाँले चुनावी प्रचारका क्रममा यो विभाजनलाई रोक्न प्रयास गरेको देखिएको छ ।

 

“हामी विश्वकै सबैभन्दा राम्रो देशमा बसोबास गरिरहेका छौं,” मरिसनले क्यानबेरामा आयोजित समारोहमा चुनावको घोषणा गर्दै भन्नुभयो, “हाम्रो भविष्य बलियो अर्थतन्त्रमै टिक्नेछ ।

 

चुनाव घोषणा नभए पनि अस्ट्रेलियामा चुनावी प्रचार अभियान शुरु भइसकेका छन् । अमेरिकामा झैं हप्तौंदेखि चुनावी विज्ञापनहरु देखिन थालिसकेका थिए ।

 

गत साता मरिसनको अल्पमतको सरकारले मतदातालाई प्रभावित तुल्याउन कर कटौतीको प्रस्ताव अघि सारेको थियो । लेबर पार्टी विजयी भएमा करका दर बढ्ने र आर्थिक वृद्धि कम हुने प्रधानमन्त्री मरिसन र उहाँको दलले आरोप लगाउँदै आएको छ ।रासस/एएफपी