कम्युनिष्टले जनता झुक्याए : रमेश लेखक

ओखलढुंगा,चैत ३०। नेपाली कांग्रेसका नेता रमेश लेखकले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचार र अनियमिततामा लिप्त भएको बताएका छन् ।

शनिबार ओखलढुंगामा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा लेखकले भने, ‘सरकार सम्पूर्ण रुपमा असफल भयो । भ्रष्टाचार र अनियमिततामा सरकार नै लिप्त छ ।

 

सरकारका गतिविधिले आमजनतामा निराशा आएको लेखकले दाबी गरे । अघिल्लो बर्षको तुलनामा बेरुजु बढेको महालेखाको प्रतिवेदनले देखाएको बताएका लेखकले सरकारले अनियमित खर्च गरेको बताए ।

 

बिकासको नाममा तल्लो तहसम्म भ्रष्टाचार भएको उनको भनाइ छ । उपभोक्ता समितिमार्फत काम लगाएर सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको दाबी उनको छ।

 

कम्युनिष्टले बिकास र समृद्धिको नारा दिएर बिकासका काम नगरेको पनि उनले बताए । ‘कम्युनिष्टले जनता झुक्याए,’ उनले भने, ‘सरकारका कारण आएको निराशालाई कांग्रेसले आशामा बदल्छ । अर्को निर्वाचनमा कांग्रेस बलियो पार्टीका रुपमा सरकारमा हुन्छ ।