सूचनाविना बिदामा बस्ने शिक्षकको तलब कट्टा हुने

काठमाडौं, बैशाख ५ । नयाँ शैक्षिकसत्रदेखि तेमाल गाउँपालिकाले निवेदन र सूचनाविना बिदामा बस्ने शिक्षकको तलब कट्टा गर्ने भएको छ । नयाँ शैक्षिकसत्रदेखि यस्तो नियम लागू गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन लामाले जानकारी दिए । उनका अनुसार गत शैक्षिकसत्रमा गरिएको अनुगमनका आधारमा यस्तो नियम बनाइएको हो ।

 

लामाले भने, “शिक्षक बिदामा बसेको प्रधानाध्यापकलाई समेत थाहा नहुनु गम्भीर लापरवाही हो, अब निवेदन र सूचना नदिई बस्ने शिक्षकको तलब कट्टा गर्छौँ ।” उनले सूचना प्रकाशित गरी विद्यालयभित्रको अनियमितता र शिक्षकको लापरवाहीबारे अभिभावकले गाउँपालिकामा उजुरी गर्नसमेत सक्ने प्रावधान बनाइएको बताए ।

 

गत शैक्षिकसत्रमा गाउँपालिकाभित्र गरिएको अनुगमनका क्रममा बिदामा बसेको शिक्षकले विद्यालयमा निवेदन नदिएको, बिदा बसेको शिक्षकबारे प्रअलाई थाहा नभएको, बिदामा बसेको दिनको हाजिर गरिएको र प्रअसमेतले आफूखुशी विद्यालय आउने र बिदा नजनाउने गरेको पाइएको लामाले जानकारी दिए । उनले भने, “अब प्रअले शिक्षक विद्यालय आएको–गएको समय, बिदाको निवेदन र हाजिरीमा बिदा पनि जनाउनु पर्नेछ ।”

 

प्रत्येक महीनाको अन्त्यमा शिक्षकको हाजिरकापी तथा शिक्षक बिदा बसेको निवेदनको प्रतिलिपि गाउँपालिकामा बुझाउनुपर्ने नियम पनि बनाइएको छ । हाजिरीअनुसार प्रअले गाउँपालिकाले बनाएको छुट्टै फारम भर्नुपर्ने त्यसपछि मात्रै शिक्षकको तलब पठाइने लामाले बताए । “अब शिक्षकको हाजिरी र बिदा निवेदनको आधारमा तलब पठाइन्छ, जसले शिक्षक अनुशासनमा बस्ने र गुणस्तरीय शिक्षामा मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।”

 

उच्च माध्यमिक विद्यालयसम्मका ४३ विद्यालय रहेको तेमाल गाउँपालिकामा करीब ३०० शिक्षक कार्यरत रहेका छन् । गाउँपालिकाले वैशाखदेखि शिक्षकको बैंक खातामा प्रत्येक महीना तलब पठाउने तयारी गरिरहेको छ । रासस