मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या छिट्टै समाधान हुन्छः मन्त्री मगर

काठमाडौँ,बैशाख ५। खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या छिट्टै समाधान गर्ने बताएकी छन्। आयोजनाको बाँकि काम अघि बढाउन देखिएको समस्या समाधानका लागि पहल भइरहेको भन्दै आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई सचेत गराएकी छन्।

बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री मगरले काठमाडौं उपत्यकामा रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षणको काममा जुटन पनि मातहतको निकायलाई कडा निर्देशन दिइन्। उनले काठमाडौं उपत्यकामा खानेपानीको व्यवस्थापनको काममा खटिएका निकायहरुले त्यसको त्यसको सदुपयोग भए÷नभएको विषयमा पनि विशेष निगरानी राख्नुपर्ने आवश्यक्ता पनि औंल्याइन्।

 

कार्यक्रममा बोल्दै खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले गुणस्तरीय खानेपानीको व्यवस्थापन हुने गरी आवश्यक मापदण्डसहितको कानुन निर्माणको कामलाई अघि बढाइएको बताए। उनले जनताको स्वच्छ खानेपानी पिउने अधिकारलाई सुरक्षित गराउन आवश्यक प्रविधि भित्र्याउनु पर्नेमा पनि जोड दिए। सचिव शर्माले सन् २०३० भित्र ९० प्रतिशत जनताले उच्च तथा मध्यमस्तरको खानेपानी पिउन पाउनुपर्ने दीगो विकास लक्ष्य हासिल गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।