श्रीलंकामा सुरक्षाकर्मी र बिद्रोही बिच गोली हानाहान,कम्तिमा १५ जनाको मृत्यु

एजेन्सी,बैशाख १४। श्रीलंकामा सुरक्षाकर्मी र बिद्रोहीबिच भएको झडपमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । गत आइतबार श्रीलंकामा क्रिश्चियन धर्मावलम्बीले इस्टर पर्व मनाइरहँदा श्रीलंकाका चर्च तथा होटलहरुमा बम आक्रमण हुँदा अहिलेसम्म कम्तिमा २५० जनाको मृत्यु भएको थियो ,भने पाँच सयभन्दा बढी घाइते भएका छन्। कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चका साथै कोलोम्बोस्थित होटल सांग्रिला र सिनामोन ग्रान्ड होटलमा विस्फोट भएको थियो । श्रीलंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आइतबार बिहान बिद्रोही र सुरक्षाकर्मीबिच झडप भएको क्षेत्रमा १५ जनाको शव फेला परेको सेनाका प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । ज्यान गुमाउनेमा ६ बालबालिका पनि छन् । शुक्रबार राति अम्पारा क्षेत्रमा झडप भएको हो । झडपमा ज्यान गुमाउनेमा तीनजना आत्मघाती आक्रमणकारी रहेको सेनाका प्रवक्ताले दाबी गरेका छन् । झडपको क्रममा तीनवटा बिस्फोट भएको थियो ।

 

प्रहरीसहितका सुरक्षा निकायले अहिले आक्रमणकारीको खोजी गरिरहेका छन् । यहि क्रममा देशको पूर्वी क्षेत्रमा प्रहरी र सशस्त्र समूहबिच शनिबार बिहान गोली हानाहान भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

यस्तै प्रहरीले कारवाही अभियान चलाइरहेका बेला बात्तिकालोया नजिकै अम्पारा बजारमा बिस्फोट पनि भएको सेनाका प्रवक्ताले बताएका छन् । सोही आसपास क्षेत्रमा प्रहरीको छापाको क्रममा इस्लामिक स्टेट (आइएस) को पोशाक बरामद भएको छ । यसैबिच श्रीलंकाका क्याथोलिक चर्चहरुले आइतबार चर्चमा हुने सामूहिक प्राथना तत्कालका लागि स्थगित गरेका छन् ।