सुदूरपश्चिम प्रदेश :समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको उद्देश्य

काठमाडौँ,जेठ २ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६र०७७ मा प्रस्तुत गर्न लागेको बजेटले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मुख्य उद्देश्य राखेको छ । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आव २०७६र०७७ को पूर्वबजेट छलफलका लागि तयार पारिएको दस्तावेज प्रस्तुत गर्दै कृषिमा आत्मनिर्भरता, उत्पादन र उत्पादकत्व वृद्धि, दिगो आर्थिक विकास, सुशासन, आगामी आवको बजेटका मुख्य उद्देश्य रहेको बताउनुभयो ।

 

मन्त्री बोहराले प्रस्तुत गर्नुभएको दस्तावेजमा गरीबी न्यूनीकरण लक्षित कार्यक्रम, स्थानीय स्रोत, सीप र साधनमा आधारित रोजगारीका कार्यक्रम, विकासका आधारभूत पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव विकास सूचकाङ्कमा पछि परेका जिल्लामा सञ्चालन हुने योजना र कार्यक्रमलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

 

यसैगरी प्रदेश सरकारले अवलम्बन गर्ने मुख्य नीतिमा गरीब घरपरिवार पहिचान गरी उनीहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, जनताको सीप क्षमताको पहिचान गरी स्वरोजगारतर्फ उन्मुख गराउने, जनताका लागि आयआर्जनसम्बन्धी क्रियाकलाप गर्दै सामाजिक परिचालनमाफर्mत् सशक्तीकरणका कार्यत्रम सञ्चालन गर्ने जनाइएको छ ।

 

निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक बनाउन पहल गर्ने, प्रदेश सरकारको अधिकारमा रहेका सडक सञ्जालको मर्मतसम्भारका साथै नयाँ लोकमार्गको निर्माण गरिने, गरीबी निवारणका लागि सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशमा सञ्चालन गर्ने कार्यक्रममा प्रदेश सरकारले परिपूरकको भूमिका निर्वाह गर्नेलगायत विषयलाई पनि बजेटका मुख्य नीतिमा समेटिएको छ ।

अर्को बैठक यही जेठ ६ गते दिउँसो २ बजे बस्ने छ ।रासस