त्रिवि सेवा आयोग परीक्षा अनियमितता भएपछि मौखिक परीक्षा स्थगित

काठमाडौं, जेठ ३ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको लिखित परीक्षा विवादमा परेपछि मौखिक परीक्षा स्थगित गरिएको छ । लिखित परीक्षामा त्रिविका उच्च पदाधिकारी र राजनीतिक नेतृत्वका आफन्त बढी उत्तीर्र्ण भएपछि त्यसको चर्को आलोचना हुँदै आएकामा पछिल्लो समयमा मौखिक परीक्षा स्थगित गरिएको हो ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि लिखित परीक्षामा भएको अनियमिततामाथि अनुसन्धान अघि बढाएको छ ।

 

त्रिवि सेवा आयोगको खुला प्रतियोगिताअन्तर्गतको शाखा अधिकृत पदको २ जेठ २०७६ देखि हुने भनिएको अन्तर्वार्ता स्थगित भएको हो । आयोगले २०७५ जेठमा खुला प्रतियोगिताअन्तर्गत प्रशासनिक तथा प्राविधिक तहका विभिन्न पदमा परीक्षा लिएको थियो ।

 

परीक्षा लिएको १० महिनापछि १४ वैशाखमा आयोगले नतिजा सार्वजनिक गरेको थियो । लिखित परीक्षाको नतिजा सार्वजनिक भएलगत्तै आयोगका पदाधिकारीले आफू निकट तथा उच्च राजनीतिक नेतृत्वको दबाबमा केही व्यक्तिलाई उत्तीर्र्ण गराएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

 

त्यसलगत्तै अख्तियारले सबै उत्तरपुस्तिका नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । कोइरालाका अनुसार त्रिवि सेवा आयोगको परीक्षा प्रणालीको अनियमितताको विषयलाई अख्तियारले उच्च प्राथमिकतासाथ अध्ययन अनुसन्धान गरिरहेको छ ।

 

अख्तियार प्रवक्ता कोइरालाले भने, ‘आयोगले परीक्षामा भएको अनियमितताको उजुरीको विषयलाई उच्च प्राथमिकतासाथ हेरिरहेको छ । आयोगले उजुरी ग्रहण गरेर समिति नै गठन गरी अनुसन्धानलाई तीव्र रूपमा अघि बढाएको छ ।याे समाचार राजधानी दैनिकमा छ ।