चरेस तस्कर छुटाउन प्रहरी चौकीमै आक्रमण,प्रहरीद्धारा ६५ राउण्ड फायर

काठमाडौं,जेठ ४ ।बांकेस्थित नरैनापुरमा भारतीय नागरिकले नेपाल प्रहरीमाथि आक्रमण गरेका छन् । नेपाल प्रहरी इन्सपेक्टरको कमाण्डमा रहेरो ब्युरो टोली चरेस पक्राउ गरी ल्याउने क्रममा मध्यराती प्रहरीमाथि आक्रमण भएको हो ।

 

गएराति सीमा नाका जाँचका क्रममा नेपाल प्रहरीले ५ किलो चरेससहित एक भारतीय नागरिक देवीदिन विश्वकर्मालाई पक्राउ गरेपछि भारतीयले नैरनापुर ५ भगवानपुरस्थित प्रहरी चौकीमा ढुङ्गामुढासहित आक्रमण गरेका थिए ।

 

स्थानीय र बोर्डर पारीका तस्करहरूले प्रहरीको गाडी तोडफोड गर्नुको साथै आगजनी समेत गरेको प्रहरी जनाएको छ । भारतीय नागरिकले इलाका प्रहरी कार्यालय नरैनापुरमा प्रहरीमाथि आक्रमण गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट हवाई फायर ६५ राउण्ड गरेको हो। प्रहरी तर्फ ३ जना सामान्य घाइते र तस्करतर्फ करिब ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ’स्थिति तनावग्रस्त भएपछि नियन्त्रणको लागि हवाई फायर गरेका हौँ,’ इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेश सिंहले भने। अहिले उक्त क्षेत्रमा स्थिति सामान्य र सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

 

विश्वकर्माले नरैनापुर नजिकैको मेलामा चरेस बेच्दै हिँड्ने गरेको सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई अहिले थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ। उक्त क्षेत्रबाट ठुलो मात्रामा विदेशी हरियो केराउ र कालो मरिच नेपालबाट भारततर्फ तस्करी हुने गरेको बताइएको छ ।