नौ जना सामूहिक हत्याकाण्ड घटना पारिवारिक कलहसँग सम्बन्धित छानबिन गर्न काङ्ग्रेसको माग

काठमाडौ, जेठ ८ ।गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको घटना पारिवारिक कलहसँग सम्बन्धित रहेको बताएका छन् । उनले अनुसन्धान भइरहेकाले थप सत्यतथ्य त्यसपछि बाहिर आउने बताए ।

राष्ट्रिय सभामा बुधबार घटनाबारे जानकारी दिँदै उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश प्रहरीका वरिष्ठ अधिकारीबाट अनुसन्धान भइरहेको जानकारी दिए । उनले केही दिनभित्रै सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरे ।

 

गृहमन्त्रीले घाइतेको उपचार भइरहेको र अपराधी पत्ता लगाउने एउटा सूत्रका रूपमा पनि उनी रहेको बताए । उनले घटनास्थल र वरिपरिको स्थिति नियन्त्रणमा राख्न आवश्यक सुरक्षाकर्मीको टोली खटाइएको उल्लेख गरे । घटना निकै बीभत्स रहेकाले अपराधी पत्ता लगाउन कसर बाँकी नराखिने उनले बताए ।

छानबिन माग
कांग्रेसले सामूहिक हत्याको घटनालाई रहस्यमय भन्दै गम्भीर छानबिनका लागि सरकारसँग माग गरेको छ । कांग्रेसले सत्यतथ्य बुझ्न प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे र पाँचथर जिल्ला सभापति नरेन्द्र केरुङ लिम्बूलाई घटनास्थल पठाएको छ । ‘अत्यन्तै क्रूरतापूर्वक भएको हत्याकाण्डले शोकमग्न बनेका गाउँलेवासीमा पार्टीले समवेदना प्रकट गरेको छ,’ केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा छ, ‘कांग्रेस यो रहस्यमय घटनाको गहिरो र गम्भीर छानबिन गर्न सरकारसँग माग गर्छ ।’