अफ्रिकाको भोकमरी, युएनद्वारा सहयोगको घोषणा

नैरोबी,जेठ २३ । संयुक्तराष्ट्र संघले अफ्रिकामा उत्पन्न भोकमरीमा परेका सर्वसाधारणलाई सघाउन चार करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने बुधबार घोषणा गरेको छ ।

 

राष्ट्रसंघका आपतकालीन सहायता संयोजक एवं उपमहासचिव मार्क लोककले सोमालिया, इथियोपिया र केन्याका सुख्खाग्रस्त क्षेत्रका जनतालाई उक्त सहयोग गरिने बताउनुभयो । अफ्रिकाका यी देशका कतिपय भेगमा सुख्खाका कारण खाद्यान्नको चरम सङ्कट उत्पन्न भएको छ ।

लोककले जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रसंघले निरन्तरको सुख्खाबाट प्रभावितको मृत्यु र मानवीय सङ्कटमा सहयोग गर्न चाहेको उल्लेख छ ।

 

लोककले राष्ट्रसंघको बजेटमध्ये सोमालियाका लागि तीन करोड छुट्याइएको बताउनुभयो । सोमालियामा आगामी सेप्टेम्बरसम्ममा चरम खाद्य असुरक्षाबाट करिब २२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

 

यस्तै, करिब १ करोड अमेरिकी डलर सोमालियाको छिमेकी मुलुक इथियोपियामा खर्च हुनेछ । यहाँ सन् २०१६ र २०१७ को झै विषम मौसमी अवस्था रहेको र सुख्खाबाट चरम खाद्य संकट उत्पन्न भएको छ ।

 

लोककले तीन देशले भोग्नु परेको विषयम खाद्य संकट र अन्य मानवीय सहायतामा ध्यान दिन अन्य दातृ निकायहरुलाई पनि आग्रह गर्नुभएको छ ।

करिब ५० लाख अमेरिकी डलर भने केन्या सरकारको खाद्य सुरक्षा कार्यक्रमका लागि उपलब्ध गराइने राष्ट्रसंघले जनाएको छ । रासस/सिन्ह्वा