विप्लवका जिल्ला सेक्रेटरीलाई चन्दा ऐन अनुसार मुद्दा दर्ता

      रामकुमार श्रेष्ठ  

नवलपरासी, ३२ जेठ । तिन दिन अघि पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ६ बाट पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले चन्दा ऐन अनुसार कारवाही अगाडि बढाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी अर्जुन रानाभाटका अनुसार उनीहरुको साथबाट नगद, चन्दा रसिद र दस्तावेज सहित पक्राउ गरी चन्दा ऐन अनुसार कारवाही अगाडि बढाइएको छ ।

 

पूर्वी नवलपरासीदेखि दाङसम्मका चुरे क्षेत्रको चुरे जिल्ला सेक्रेटरी रोप्पाको परिवर्तन गाउँपालिका ५ निवासी ४० बर्षीय इन्द्रकुमार घर्ति गगन र सोही भुगोल अन्तरगतको जिल्ला सदस्य कावासोती १ हात्तीखोर निवासी ३४ बर्षीया धनसिंह ठगुन्ना अर्जुनलाई जेठ २९ गते पक्राउ गरेको थियो ।