सबैका लागि खुशिकाे खबर :अब ३० रुपैयाँमै विशेषज्ञ स्वास्थ्य सेवा

धनगढी,असार ७। कैलाली जिल्लाको अत्तरियामा रहेको सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालले ३० रुपैयाँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।

 

नाफामूलक नभई विपन्न तथा दुरदराजका जनतालाई सस्तो र सहज रुपमा सेवा दिने उद्देश्यले सुदूरुपश्चिमाञ्चल सामुदायिक अस्पताल खोलिएकाले सस्तो मूल्यमा नै विशेषज्ञ सेवा सञ्चालन गरिएको अस्पतालले जानकारी दिएको छ।

 

सरकारी र सामुदायिक लगानी भएको सुदूरपश्चिमाञ्चल अस्पताल विगत २०७१ सालबाट अत्तरियामा सञ्चालित छ। विपन्न समुदायका नागरिकले सामान्य स्वास्थ्य जाँचका लागि पनि ५ सय रुपैयाँ शुल्क तिरेर लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले खोलिएको सामुदायिक अस्पतालमा बिरामीको चाप भने देखिँदैन।

 

अस्पतालको प्रचारप्रसार नहुँदा बिरामी सो अस्पतालसम्म नपुगेको अस्पतालका सञ्चालक आनन्द भट्टले बताए। गरिब, असहाय, अशक्तलाई सस्तो र सहज उपचार सेवा अस्पतालले दिइरहेको उनले बताए।

 

नाफा आर्जन गर्ने उद्देश्य नभई जनताको सेवाका लागि अस्पताल सञ्चालनमा ल्याएकाले सरकारी सरह सुविधा दिइरहेको सञ्चालक भट्टको दाबी छ। चेकजाँचका लागि ५ सय रुपैयाँ टिकट काट्नुपर्ने ठाउँमा सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालमा ३० रुपैयाँमै चेकजाँच गर्न मिल्ने उनको भनाइ छ।

सामुदायिक अस्पतालले २४सै घण्टा सेवा दिइरहेको उनले उल्लेख गरे।

अस्पतालले विभिन्न समयमा निःशुल्क शिविरसमेत चलाउने गरेको छ। सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालले आकस्मीक सेवा, आइसियु, मेजर, माइनर ओटी वार्ड, प्याथोलोजी, एक्सरे, इन्डोस्कोपी, भिडियो एक्सरे, इसीजी, फिजियोथेरापी, जनरल हेल्थ प्याकेज, औषधी पसल, एम्बुलेन्स सेवा लगायतका सुविधा दिइरहेको अस्पतालका डक्टर विश्वम्भरराज जोशीको भनाइ छ।

 

डक्टर जोशीले ७० वर्षमाथिका बिरामीका लागी निःशुल्क उपचारको व्यवस्था रहेको बताए।