भारी वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित

धनगढी, असार २७ । असार महिना सकिनैलाग्दा सुदूरपश्चिम क्षेत्रमा भएको भारी वर्षाका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै गएको पहिरोले दार्चुला र बाजुरामा बढी जोखिम देखिएको छ ।

 

कैलालीमा पर्ने सबैभन्दा ठूलो कर्णाली नदीमा पानीको सतह बढे पनि चिन्ता लिनुपर्ने अवस्था नरहेको जनाइएको छ । कर्णालीमा बिहीबार बिहान पानीको सतह ६.६३ मिटर पुगेको छ ।

 

कर्णाली नदीमा ११ मिटरभन्दा माथि पानीको सतह पुगेमा तल्लो तटीय क्षेत्रका लागि खतरा मानिन्छ । यसैगरी, साना नदीहरूमा पनि पानीको सतह बढेको छ । बाजुरा जिल्लाको सबैभन्दा ठूलो नदीका रूपमा चिनिँदै आएकोे बूढीगङ्गा नदी पहिरोका कारण थुनिने सम्भावना छ ।

 

बडिमालिका, बूढीगङ्गा र त्रिवेणी नगरपालिकाको बीच भएर बग्ने द्वारीस्थित बूढीगङ्गा नदीमा त्रिवेणी नगरपालिकाको–९ पैमाको उत्तरपट्टिबाट पहिरोले ठूला ढुङ्गा र रुख ल्याएर नदीमा थुप्रिएको छ । यसबाट नदी थुनिने सम्भावना छ । नदी थुनिएमा आसपासका त्रिवेणी नगरपालिकाको–९ पैमा र बूढीगङ्गा नगरपालिकाको अम्कोट र बल्देमा रहेका बस्ती पहिरोको उच्च जोखिममा पर्ने त्रिवेणी नगरपालिकाका मेयर रामसिंह रावलले बताउनुभयो ।

 

नदी थुनिन सक्ने सम्भावनाबारे गृह मन्त्रालयलाई समेत जानकारी गराइसकिएको बाजुराका प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

नदी थुनिने सम्भावनासँगै खेतीयोग्य जमिन, झोलुङ्गे पुल र साँफे–मार्तडी सडकखण्ड उच्च जोखिममा परेका छन् । नदी थुनिने खतरासँगै छिमेकी जिल्ला अछामको बुढाबगर र साँफेबगरमा पनि उच्च सतर्कता अपनाइएको छ । विगतमा बूढीगङ्गा नदी विभिन्न स्थानमा थुनिँदा, सेराफाँटा, मौरेफाँट र अछामको आरदवाल, बूढाबगरको खेतीयोग्य फाँटहरू बगर बनिसकेका छन् ।

बाजुराका ९५ बस्ती उच्च जोखिममा

बाजुराका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले गत फागुनमै विपद् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको छ । तीमध्ये सबैभन्दा बढी त्रिवेणी र बडिमालिका नगरपालिका उच्च जोखिममा छन् ।

 

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लामा जोखिममा रहेका बस्तीको पहिचान गरी सो बस्तीलाई स्थानान्तरण गर्नुपर्ने निर्णय गरेको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी चेतराज बरालको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको थियो ।

 

त्यस्तै त्रिवेणीपछि बडिमालिका नगरपालिकामा १५ बस्ती उच्च जोखिममा रहेका छन् । समितिले उच्च जोखिममा रहेका ९५ मध्ये तत्काल स्थानान्तरणका लागि बडिमालिका नगरपालिका वडा नं. १ को सल्लेना, २ को मैमातोला विष्टवाडा, बथानलेख–७ को जिल्ली, ३ को उखाडीलगायतका बस्ती सिफारिस गरेको छ ।

साँफे–मार्तडी–कोल्टी सडक अवरुद्ध

यस्तै दुई दिनको अविरल वर्षासँगै साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । बार्जुगाड खोला हँुदै सदरमुकाम मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले अवरुद्ध सडक सञ्चालन गर्नका लागि सडक डिभिजन कार्यालय साँफेलाई खबर पठाइएको पनि जानकारी दिनुभयो ।

 

बिहीबार बिहानैबाट ठाउँठाउँमा पहिरो आएपछि लामो दूरीका बस बाम्का बजार भन्दामाथि आउन नसकेकोे जय मालिका यातायात बस व्यवसायी पृथ्वी रावलले बताउनुभयो । बाजुराको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पनि अवरुद्ध बनेको छ । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडकहरू अवरुद्ध बनेका हुन् ।

पहिरोले १२ परिवार विस्थापित

महाकाली नगरपालिका–९, दत्तुमा सडक निर्माणका क्रममा खसेको पहिरोका कारण करिब १२ परिवार विस्थापित भएका छन् । निर्माणाधीन दत्तु–थाप्ला सडक खण्डमा जम्मा भएको माटोले पहिरोको रूप लिएपछि अन्य २१ परिवार पनि विप्दको जोखिममा छन् । महाकाली नगरपालिका–९ दत्तुका वडाध्यक्ष हरसिंह डाँगाले भन्नुभयो, तीन दिनदेखि भइरहेको वर्षाका कारण बुधबार रातिदेखि पहिरो गएको हो । पानी नरोकिएसम्म पहिरो बढ्दै जाने खतरा छ ।

 

वडाध्यक्ष डाँगाका अनुसार पहिरोको जोखिमयुक्त क्षेत्रमा तारजाली लगाउने लगायत पहिरो रोकथामको प्रयास भइरहेको छ । उहाँले भन्नुभयो, तत्कालीन अवस्थामा विस्थापित परिवारलाई जिल्ला सदरमुकाममा भए पनि बसोबासको व्यवस्था मिलाउने तयारी छ ।

 

परिवार नै विस्थापित हुने गरी पहिरो गएपछि महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्ट, प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्ट, नेपाल प्रहरीका डीएसपी दीपेन्द्र शाही, सशस्त्र प्रहरीका डीएसपी भीमबहादुर चन्दलगायत अधिकारीहरूको टोलीले स्थलगत अवलोकन गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्टका अनुसार अवलोकनसँगै विपद् व्यवस्थापनको प्रयास थालिएको छ ।

धनगढीमा डुबान

कैलालीको केही ठाउँ डुबानमा परेका छन् । बुधबार राति र बिहीबार बिहान भएको वर्षाले धनगढीको हसनपुर, एलएन चोक, कनरीलगायत क्षेत्र डुबानमा परेको हो । जिल्लाको कर्णाली, मोहना, पथरैया, कान्द्रा, काँढा, खुटियालगायतका नदीमा बाढी आएको छ । यसैगरी, खोलानालामा पानीको सतह बढेको छ । सबै नदीमा पानीको सतह बढे पनि अवस्था सामान्य रहेको आपतकालीन कार्यसञ्चालन केन्द्रमा कार्यरत चेतन खड्काले जानकारी दिनुभयो ।गोरखापत्र दैनिकबाट।