महिनावारी हुँदा तल्लो पेट दुखे के गर्ने ?

महिनावारीको बेला धेरै किशोरी या महिलाको एउटै गुनासो हुन्छ। ‘तल्लो पेट दुख्यो’, ‘पेट दुखेर स्कुल जानै सकिनँ’, ‘काममा जान सकिनँ’ यस्ता गुनासो हरेक घरमा सुनिन्छ। कोही त यति धेरै दुखाइबाट गुज्रिन्छन् कि मानौं भित्र कुनै ठुलै रोग छ।

 

चिकित्सकका अनुसार महिनावारीको बेला शरीरमा हर्मोनमा परिवर्तन आउँछ। हर्मोनको परिवर्तनले पाठेघरको भित्री तहमा रहेको पत्र (इन्डोमेट्रियोसिस)_ महिनावारीकै क्रममा झर्छ। महिनावारीको क्रममा पाठेघरभित्रबाट रगत पनि बाहिर निस्कन्छ। त्यो पत्र तथा रगत बाहिर निकाल्न पाठेघर प्राकृतिक रूपमै खुम्चिन्छ। यो खुम्चेर रगत बाहिर निस्कने क्रममा तल्लो पेट दुख्ने गर्छ। यो समस्या कुल महिलाको १० प्रतिशतमा देखिन्छ। महिलाको शरीरको बनोट र मनोसामाजिक अवस्थाअनुसार कसैलाई बढी दुखेको अनुभव हुन्छ भने कसैलाई कम।

 

काठमाडौं मोडेल अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा। गणेश दंगालका अनुसार अविवाहित या बच्चा नजन्मेको अवस्थामा यो दुखाइ रहिरहन्छ। बच्चा जन्मेपछि हराउँछ। महिनावारी हर्मोनबाहेक अन्य कारणले पनि महिनावारीको बेलामा तल्लो पेट दुख्छ। इन्डोमेट्रियोसिस (पाठेघरको भित्री पत्र) पाठेघरभित्र गएमा, पाठेघरको शल्यक्रिया गरेमा, अण्डाशय र ट्युबमा संक्रमण भएमा, परिवार नियोजनको साधन कपर–टी राखेको दुई÷चार महिनाभित्र, पाठेघरभित्र कुनै प्रकारको संक्रमण वा ट्युमर भएमा महिनावारीको बेला तल्लो पेट दुख्छ।

उपचार
यीमध्ये कुन कारणले हो, त्यसको पहिचान गरी उपचार गर्न सकिन्छ। तर अविवाहित महिला जसको बच्चा पनि भएको छैन र पाठेघरभित्र कुनै रोग छैन भने खास उपचार छैन। यस्तो अवस्थामा केही घरेलु उचपारबाट पनि दुखाइ न्यून गर्न सकिन्छ। जस्तो कि महिनावारीको बेला तातो झोल कुरा खाने, हटब्यागले तल्लो पेट सेक्ने या तेलले विस्तारै मालिस गर्न सकिन्छ। अन्य कारणले भए चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्ने डा। दंगाल बताउँछन्। उनी भन्छन्, ‘जुनसुकै कारणले तल्लो पेट दुखेको भए पनि पहिला कारण थाहा पाएर मात्र उपचारतिर लाग्नुपर्छ।’

अविवाहित, ग्रामीण भेगका महिला र जो पहिलो पटक महिनावारी हुन्छन्, उनीहरू लाजका कारण पेट दुखे पनि उपचार गर्न जाँदैनन्। पछिल्लो समय भने शिक्षित तथा सहरमा बस्ने अविवाहित किशोरी पनि तल्लो पेट दुखेपछि उपचारमा आउने चलन बढिरहेको छ।नागरिक दैनिकमा छ।

लक्षण
माहिनावारीको बेला तल्लो पेट दुख्नु
यौन सम्बन्धको बेला दुख्ने
महिनावारीको बेला बढी रगत जाने

तल्लो पेट दुखेमा
यस्तो अवस्थामा केही घरेलु उचपारबाट पनि दुखाइ न्यून गर्न सकिन्छ। जस्तो कि–
महिनावारीको बेला तातो झोल कुरा खाने
हटब्यागले तल्लो पेट सेक्ने
तेलले विस्तारै मालिस गर्ने।

डा. गणेश दंगाल
काठमाडौं मोडेल अस्पताल