व्यापार युद्धको असरः चीनको आर्थिक वृद्धि २७ वर्षकै न्यून

बेइजिङ।अप्रिल–जूनको त्रैमासिक अवधिमा चीनको आर्थिक वृद्धि दर ६.२ प्रतिशत मात्रै कायम भएको छ । यो वृद्धि दर २७ वर्षकै न्यून हो । १९९२ को जनवरीदेखि मार्च सम्मको अवधिका यो भन्दा कम वृद्धि दर हासिल भएको थियो । यो वर्षको जनवरीदेखि मार्चसम्मकोअ अवधिमा ६.४ प्रतिशतको वृद्धि भएको थियो । अमेरिकासँगको व्यापार युद्धका कारण चीनको वृद्धि दरमा गिरावट आएको हो । चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । चीनको तथ्यांक विभागले सोमबार जीडीपीको आंकडा जारी गरेको हो ।

 

यो वर्षको सुरु अर्धवार्षिक अवधिमा चीनको आर्थिक वृद्धि दर ६.३ प्रतिशत रह्यो । यो भन्दा पहिले शुक्रबार चीनले व्यापार आंकडा सार्वजनिक गरेको थियो । अमेरिकामा आयात शुल्कको दर धेरै हुनाले चीनको निर्यातमा गिरावट आएको बताइएको छ । घरेलु माग घट्नाले आयातमा पनि गिरावट आएको छ । हाल विश्लेषकहरुको ध्यान अब रोजगार आंकडातर्फ गएको छ ।

 

यदी अमेरिका–चीनबीचको व्यापार युद्ध कायमै रहेमा विश्वभरीमा मन्दीको खतरा आउने विज्ञहरुले बताएका छन् । जापानको मिजुहो बैंकका एसिया एन्ड ओसेनिया इकोनोमिक्सका प्रमुख विष्णु वराथनले भनेका छन्,“अप्रिल–जुन त्रैमासिक अवधिमा चीनको कमजोर वृद्धिको असर बाँकि एसियामा पन पर्न सक्छ ।” चीनको निर्यातका साथै आयातमा पनि आएको कमी चिन्ताको विषय हो । किनकी एसियाको बाँकि देशका लागि चीन प्रमुख बजार हो। एजेन्सी,