मौसम बदलीको सम्भावना, सचेत रहन आग्रह

काठमाडौं, असार ३१ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिण भेगमा सर्दै सीमा क्षेत्रमा पुगेको छ । यसअघि मध्य तथा पहाडी भेग छुन पुगेको न्यूनचापीय रेखा पछाडि हटेपछि भारी वर्षाको सङ्कट कम हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

“वर्षातको समयमा पानी पर्ने क्रम त जारी रहन्छ तर बितेका दिनमा जस्तो भारी वर्षा सबैतिर पर्दैन”, मौसमविद् सुवास रिमालले भने, “तर केही भेगमा भने भारी वर्षा हुने र आकस्मिक बाढी आउने सम्भावना उच्च नै रहेकाले सतर्क भने रहनुपर्छ । 

 

केही भेगमा ठूला बादल छुट्टिएर बसेको अवस्थामा रहेकाले त्यस क्षेत्रमा भारी वर्षा हुने छ । पश्चिमी भेगमा भने मध्य र पूर्वको तुलनामा बढी वर्षा हुने भएकाले नदीको सतर्कता तह पार हुन सक्ने भएकाले स्थानीय सतर्क रहनुपर्ने उहाँले बताए ।

 

बाढी पूर्वानुमान महाशाखाले भने पश्चिम सेती जलाधार क्षेत्र, कर्णाली क्षेत्र र सुदूरपश्चिमका ठूलासाना नदीमा बाढी आउने जनाएको छ । सोमबार, मङ्गलबार पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव बढ्ने बताइएको छ ।

 

त्यस्तै कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, सुर्खेत, जाजरकोट, सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु लगायतका क्षेत्रका साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाका जलविज्ञ विनोद पराजुलीले बताए । तर खतराको तह तत्काल पार गर्ने गरी वर्षा हुने सङ्केत भने नरहेको उनको अनुमान छ । बुधबार वर्षाको क्रम न्यून हुँदा बहाव सामान्य हुने छ ।