हरियो चुरा, पहेँलो पोते र मेहन्दी

काठमाडौंँ, साउन २ । साउन लागेपछि हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या बढ्ने गरेको छ । यो संस्कृतिले नेपाली किशोरी, युवती हुन् या वयस्कस सबै उमेर समूहलाई छोएको छ ।

 

खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् । पहिले धर्मसंस्कृति मान्ने पाका महिलामा मात्र सीमित मेहन्दी र चुरा अचेल सबैजसो महिला र युवतीका लागि फेसनजस्तो भएको छ । साउन लाग्नेबित्तिकै रातो, पहेँलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल बढ्ने गरेको पाइन्छ । न्युरोडमा मेहन्दी लगाउँदै गर्नुभएका समिता बाँस्तोला भन्नुहुन्छ, “हरेक संस्कृतिमा महिला सौन्दर्यको कुरा गरिएको पाइन्छ । यो सौन्दर्य कसरी प्राप्त गर्ने भन्ने उपाय खोज्ने क्रममा मेहन्दी र चुराको पनि प्रयोग बढेको हो । 

 

“म पनि सुन्दर हुन नै हरियो चुरा र मेहन्दीमा सजिएकी हुँ । यो सबै मैले मेरो श्रीमान्को आयु वृद्धिका लागि गरेको हुँ”, उहाँ थप्नुहुन्छ, “अहिले मेरो श्रीमान् विदेशमा हुनुहुन्छ । उहाँको लामो आयु र सुस्वास्थ्यको कामना गर्दै व्रत पनि बसेको छु । ” बाँस्तोला अहिले युवतीमा यस्तो फेसनको रूपमा विकास भएको बताउनुहुन्छ । यसलाई संस्कृतिको रूपमा लग्न सकेको खण्डमा राम्रो हुने पनि उहाँको भनाइ छ ।

 

यस्तै इन्द्रचोकमा हरियो चुरा खरिद गरिरहनुभएका सजना श्रेष्ठलाई पनि साउनको फेसनले छोएको छ । उहाँले थप्नुभयो, “सबै महिला दिदीबहिनीका हातमा चुरा र मेहन्दी सजिएको छ । आफ्नो हातमा नहुँदा खल्लो हुन्छ । 

 

हरेक वर्ष आफ्ना साथी तथा आफन्तलाई चुरा दिनुहुने श्रेष्ठ साउनलाई धेरैले प्रेमको महिना मान्ने गरेको बताउनुहुन्छ । उहाँले पनि आफ्ना प्रेमीका लागि चुरा र मेहन्दी लगाएको बताउनुभयो । यो समय किशोरी वा युवतीहरूले आफूलाई हरियो चुरा र मेहन्दीमा सजाउने ‘लोकप्रिय संस्कृति’का रूपमा परिचित भएको छ । पहिले गाउँघरमा मेहन्दी पाइँदैनथ्यो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थे । अचेल तिउरेको ठाउँ मेहन्दीले लिएको छ । मेहन्दी र चुरापोतेको काम गर्ने व्यवसायीलाई भ्याइनभ्याइ छ ।

 

यो संस्कृतिमा हत्केलामा लगाएको मेहन्दीको रङ गाढा बसेमा औधी माया गर्ने भावी पति पाइन्छ भन्ने विश्वास पनि गरिन्छ । अन्य किशोरीझैँ हरियो चुरा र मेहन्दीमा सजिनुभएकी इपिसा कँडेलको पनि यस्तै विश्वास छ । “आमा दिदीहरूले पनि त्यसै भन्दै आएका छन्”, उहाँले थप्नुभयो, “आफ्नो हातमा लगाएको मेहेन्दी निकै गाढा लागेकाले होला, भविष्यमा माया गर्ने पति पाउँछु भन्ने विश्वास मनमा पलाएको छ । ” उहाँले आफ्नो नाडीमा दुई दर्जन हरिया काँचका चुरा पनि सजाउनुभएको छ । उहाँले बितेका पाँच वर्षदेखि साउन महिनामा नियमित हरियो काँचका चुरा र मेहन्दी लगाउँदै आएको बताउनुभयो ।

साउने संस्कृति

पौराणिक मान्यताअनुसार साउन महिना देवताका पनि देवता शिवको महिनाका रूपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको हुनाले महिलाहरू यसलाई बढी महŒवको रूपमा लिने गर्छन् । “साउन महिना धार्मिक, प्राकृतिक र सांस्कृतिक हरेक दृष्टिले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रूपमा लिइन्छ”, संस्कृतिविद् गणेशराम लाक्षीले भन्नुभयो, “शिवजीसँग जोडिएको महिना भएकाले महिलाका लागि यो महिना बढी महŒवपूर्ण मानिन्छ । ”

हरियो चुरा र मेहन्दी

साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ भएको संस्कृतिविद् लाछी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हरियोलाई प्रेम र वातावरण, रातोलाई सौभाग्य एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ । साउनमा हरियो, पहेँलो र रातो सम्मिश्रण गरी लगाउने चलन बसेको छ । चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रङ राख्यो, उति नै बढी श्रीमान्को माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । गोरखापत्र  दैनिकमा  खबर छ। ।