नेपालको सानदार जित मलेसिया ७ विकेटले पराजित

काठमाडौं, साउन ८ । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले पहिलो जित हात पारेको छ । बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।

 

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा मलेसियाले दियको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

 

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतक बनाए । टिमको कप्तानी गरिरहेको मल्लले २१ बलमा ५१ रन जोड्दै नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाए । मल्ल ५१ रनमा क्याच आउट भए ।

 

आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहे । मल्ल नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने पहिलो खेलाडी बने ।

 

यसअघि छिटो अर्धशतक विनोद भण्डारीको नाममा रहेको थियो । विनोदले गत साता मलेसियाविरुद्धको सिरिजमा २५ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरै ९ ओभर खेल्दै ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । वर्षाले प्रभावित गरेपछि झन्डै ३ घण्टा ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको हो ।

 

मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रन जोडे । यस्तै भिरनदिप सिंहले २१ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले १र१ विकेट लिए ।

 

जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ। २ खेलमा समान एकरएक जित र हार ब्यहोरेको भए पनि मलेसिया अंकतालिकामा नेपाल भन्दा अघि छ। मलेसिया २ अंकसहित दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।

 

आयोजक सिंगापुर ३ अंकसहित पहिलो स्थानमा छ। जारी एसियाली छनोटको फाइनल चरणको प्रतियोगिता जित्ने टोली टी(२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ।

 

नेपाली टिमका कप्तान पारस खड्काले भने चोटका कारण मलेसियाविरुद्धको खेल गुमाएका छन्। उनको स्थानमा टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका थिए। नेपालले तेस्रो खेल शनिबार कुवेतसँग र अन्तिम खेल आइतबार सिंगापुरसँग खेल्नेछ।